मंगलबार केही प्रदेशमा वर्षाको सम्भावना, तराईमा बढ्नेछ गर्मी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, तराईका भू-भागमा भने तापक्रम बढ्ने (तातो लहर/तातो दिन) विभागले चेतावनी दिएको छ।
विभागका अनुसार मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको आँकलन गरिएको छ।
तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेश, बागमती तथा गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका पहाडी भेगमा वर्षा र हिमपातको क्रम जारी रहनेछ।
वर्षाको सम्भावना रहे पनि तराईका क्षेत्रमा भने गर्मीको प्रभाव कायम रहनेछ। विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा ‘तातो लहर’ (लु) चल्ने तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा ‘तातो दिन’ हुने सम्भावना छ। त्यसैले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
मंगलबार दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा कोशीको तराईमा बदली रहनेछ भने बाँकी स्थानमा मौसम आंशिक बदली वा सफा रहनेछ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल लाग्ने र तराईका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
गर्मी बढेका स्थानहरूमा सर्वसाधारणलाई घामबाट बच्न, पर्याप्त पानी पिउन र स्वास्थ्यको ख्याल राख्न विभागले आग्रह गरेको छ।







डिसी नेपाल







Facebook Comment