आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

डिसी नेपाल
९ असार २०८३ ७:४०

काठमाडौं।  प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि गर्ने तथा अमर्यादित सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई आचारसंहिताको परिधिभित्र रही पूर्ण जिम्मेवारीबोधका साथ तथ्यपूर्ण सामग्री मात्र सम्प्रेषण गर्न र गराउन विशेष आग्रह गरेको हो ।

काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट पेसागत आचरण, सामाजिक उत्तरदायित्व र पत्रकारिताको स्थापित मर्यादा विपरीतका गतिविधिहरू बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।

विशेष गरी अनलाइन समाचार पोर्टल दर्ता गर्ने तर वेबसाइटमा समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिल (Reels) मार्फत मात्रै भ्युज र मोनिटाइजेसन (आर्थिक आम्दानी) केन्द्रित हुने प्रवृत्ति बढेको काउन्सिलले उल्लेख गरेको छ । वित्तीय स्वार्थका लागि तथ्यहीन, मनगढन्ते, झैझगडा र गालीगलौजपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य तीव्र रूपमा बढेको भन्दै काउन्सिलले यसमाथि निगरानी बढाएको जनाएको छ ।

यसैगरी, पत्रकारिताको आवरणमा बिना अनुमति तथा आधिकारिक पत्रकार परिचयपत्रबिना विभिन्न सरकारी तथा निजी कार्यालय, शैक्षिक संस्थाहरू वा सार्वजनिक कार्यक्रमहरूमा जबरजस्ती प्रवेश गरी अमर्यादित व्यवहार गर्ने प्रवृत्ति मौलाएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्वार्ता वा भिडियो खिच्ने बहानामा दुर्व्यवहार तथा अनावश्यक विवाद सिर्जना गर्ने र हातपातसम्मका घटना गराई सोही भिडियोलाई ‘भाइरल’ बनाउन सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्तिप्रति काउन्सिलले कडा शब्दमा आपत्ति जनाएको छ ।

काउन्सिलका अनुसार यस्ता उच्छृङ्खल र गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता, गरिमा र स्थापित गौरवमय मर्यादामा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ । समाजको ऐनाका रूपमा रहेको पत्रकारिता जगतलाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि काउन्सिलले नियमित अनुगमन गरिरहेको र आचारसंहिता विपरीत कार्य गर्नेहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने समेत चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *