रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन निकट सहयोगीको उम्मेदवारी

डिसी नेपाल
१० असार २०८३ ६:५६

चितवन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति चयनका लागि भइरहेको प्रक्रियामा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जना प्रमुख सहयोगीहरूले उम्मेदवारी दर्ता गराएका छन्।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदका लागि आ-आफ्नो उम्मेदवारी दिएका हुन्।

चितवन। राजनीतिक सल्लाहकार अशिम शाहले खुला मुस्लिम समावेशी कोटाबाट उम्मेदवारी दिएका छन्। सफल राजनीतिज्ञका साथै चलचित्र निर्देशक, निर्माता र सञ्चारकर्मीका रूपमा स्थापित शाहलाई तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य एवं एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रूपमा हेरिन्छ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा वैकल्पिक शक्तिहरूबीच सहकार्य हुनुपर्ने मान्यता राख्दै सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका शाहले दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। पछिल्लो समय उनी सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा समन्वय, नीतिगत बहस र संगठन विस्तारमा सक्रिय छन्।

यसैगरी, प्रधानमन्त्री शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले रास्वपाको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

काठमाडौं महानगरपालिकामा पनि शाहसँगै सूचना प्रविधि तथा सुशासन सल्लाहकारका रूपमा काम गरिसकेका ढकाल सार्वजनिक चर्चाभन्दा कार्यसम्पादन र नतिजामा विश्वास गर्ने व्यक्तिका रूपमा चिनिन्छन्।

महानगरमा प्रविधिमैत्री सेवा प्रवाह, डिजिटल प्रशासन र डाटामा आधारित निर्णय प्रक्रिया संस्थागत गर्न उल्लेखनीय योगदान पुर्‍याएका ढकालले जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र रास्वपासँगको समन्वयमा नेपथ्यबाट रणनीतिक योजनाकारको भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, प्रधानमन्त्रीकी स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान र युवा नेतृत्व विकासमा लामो अनुभव सँगालेकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा हेरिन्छ।

हालै बेलायतको प्रतिष्ठित ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’ बाट विश्व स्वास्थ्य नीति विषयमा विशिष्ट श्रेणीसहित स्नातकोत्तर तहको अध्ययन पूरा गरी फर्किएकी ढकाल हाल सार्वजनिक नीति, रणनीतिक योजना र अन्तरमन्त्रालय समन्वयको क्षेत्रमा क्रियाशील छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *