कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको भन्दै ११ विद्यार्थी संगठनको आपत्ति
काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रकाशनमा देखिएको गम्भीर प्राविधिक त्रुटि तथा केही समयअघि प्रकाशित एसईईको नतिजामा देखिएका कमजोरीहरूलाई लिएर विभिन्न ११ विद्यार्थी संगठनले कडा आपत्ति जनाएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायतका ११ विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशनमा गरिएको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका हुन्। छिटो नतिजा प्रकाशन गर्ने हतारोमा विद्यार्थीको भविष्यमाथि नै खेलबाड गरिएको आरोप लगाउँदै उनीहरूले शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “परीक्षा नतिजामा देखिएका यस्ता गम्भीर त्रुटिहरूले विद्यार्थीको वर्षौँको मेहनत र उनीहरूको जीवनमाथि खेलबाड गर्ने काम भएको छ, जसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन।”
विद्यार्थी संगठनहरूले काठमाडौंको माइतीघर मण्डलामा विद्यार्थीहरूले थालेको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सो आन्दोलन पूर्ण रूपमा न्यायोचित र आवश्यक रहेको ठहर गरेका छन्। उनीहरूले नतिजाका त्रुटिहरू तत्काल सच्याउन, उत्तरपुस्तिका पुनर्मूल्याङ्कनका लागि वैज्ञानिक र भरपर्दो व्यवस्था गर्न तथा आगामी दिनमा यस्ता लापरबाही नदोहोरिने गरी परीक्षा प्रणालीमा आवश्यक सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग जोडदार माग गरेका छन्।
विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने निकायलाई जिम्मेवार बनाउन र न्यायपूर्ण नतिजा सुनिश्चित गर्नका लागि आफूहरू चरणबद्ध रूपमा दबाबका कार्यक्रमहरू अघि बढाउने चेतावनीसमेत विद्यार्थी संगठनहरूले दिएका छन्।







डिसी नेपाल





Facebook Comment