नमोबुद्धमा सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन, सामाजिक विकृतिविरुद्ध ऐक्यबद्धता

डिसी नेपाल
१२ असार २०८३ १२:१३

काठमाडाैं। नेपाली समाजमा जरो गाडेर बसेका विभिन्न विकृति र विसङ्गतिहरूका विरुद्ध जनचेतना जगाउने उद्देश्यले नमोबुद्ध नगरपालिकाको आयोजनामा सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ।

नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई जागरूक बनाउन बिहीबार नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा यो नाटक मञ्चन गरिएको हो।

सूचना, मनोरञ्जन र चेतनाको त्रिवेणी रहेको यस नाटकमा समाजका जल्दाबल्दा चुनौतीहरू जस्तै- बालविवाह, लागूपदार्थ दुर्व्यसन, साइबर अपराध र अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई मुख्य विषयवस्तु बनाएर प्रस्तुत गरिएको थियो।

समाजमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास गरिएको यस नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गर्नुभएको हो भने यसमा आदिइत्यादिको प्रस्तुति रहेको थियो।

नाटक हेरेपछि आफ्नो प्रतिक्रिया दिँदै जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीले यसलाई अत्यन्तै समयसापेक्ष र जनचेतनामूलक भन्दै अभिभावक, विद्यार्थी र शिक्षक सबैले हेर्नैपर्ने प्रकृतिको बनेको उल्लेख गरे।

यस्तै, नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले नगरपालिकाभित्र अझै पनि बालविवाह व्याप्त रहेको र पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याउन सक्ने जोखिमबारे समुदायलाई सचेत गराउन यो नाटकको आयोजना गरिएको स्पष्ट पारे।

वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, ‘खुपीका बाउ’ उपनामले चर्चित कमलमणि नेपाल, ‘गौरी’ का रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रूपेश मण्डल र अञ्जु खड्का लगायतका स्थापित कलाकारहरूको जीवन्त अभिनय रहेको यस नाटकले दर्शकहरूलाई गम्भीर र सचेत बन्न प्रेरित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *