लुम्बिनी प्रदेशमा लागुऔषधको जालो भयावह: खुला सीमा मुख्य चुनौती, युवा पुस्ता उच्च जोखिममा

डिसी नेपाल
१२ असार २०८३ १३:५०

लुम्बिनी। लुम्बिनी प्रदेशका तराई तथा पहाडी जिल्लाहरूमा लागुऔषधको अवैध ओसारपसार, बिक्री-वितरण र सेवनको अवस्था निकै डरलाग्दो र भयावह बन्दै गएको छ।

हालै मात्र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बाँकेको कोहलपुर-१ कौशिलानगरस्थित सार्वजनिक प्रतीक्षालयबाट वैजनाथ गाउँपालिका-३ का विशाल थापा मगर र कोहलपुरका गगनबहादुर परियारलाई एक किलो २०० ग्राम अवैध अफिमसहित नियन्त्रणमा लिएको छ।

यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका-११ बनकट्टीमा बुटवलदेखि दाङतर्फ जाँदै गरेको इभी गाडीमा सवार दाङ घोराहीका रविन बुढाको झोलाबाट प्रहरीले ठूलो परिमाणमा औषधीजन्य लागुऔषध बरामद गरी चालकसहित उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ।

रुपन्देही प्रहरीले सार्वजनिक सवारीका चालकहरू लक्षित गरी चलाएको विशेष पिसाब परीक्षण अभियानका क्रममा जाँच गरिएका एक सय चालकहरूमध्ये १७ जनाले लागुऔषध सेवन गरेको पाइनुले यातायात क्षेत्र र जनस्वास्थ्यमा यसको गम्भीर खतरालाई पुष्टि गर्दछ।

प्रहरीले गत वैशाख महिनामा मात्रै रुपन्देहीमा लागुऔषधसम्बन्धी १२ वटा मुद्दा दर्ता गरी १९ जनालाई कानुनी कारबाही अघि बढाएको छ, जसका क्रममा ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, डाइजेपाम, फेनारगन, ब्रुफिनुर्फिन र स्पास्मो ट्याब्लेट जस्ता घातक पदार्थ बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लाहरूमा लागुऔषध कारोबारीहरूले सहजै आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।

नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय दाङको वर्ष २०८२ को वार्षिक तथ्यांक हेर्दा प्रदेशका १२ जिल्लाहरूमा कुल ७४८ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमध्ये पहाडी जिल्लाहरू रुकुमपूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी र पाल्पामा जम्मा १७ वटा घटना मात्र दर्ता भएका छन् भने बाँकी करिब ७० प्रतिशतभन्दा बढी घटना भारतसँग सीमा जोडिएका अत्यधिक जोखिमयुक्त तराईका जिल्लाहरू बाँके, बर्दिया र रुपन्देहीमा केन्द्रित छन्।

सबैभन्दा बढी प्रभावित बनेको बाँके जिल्लामा २१७ वटा घटनामा ३२२ जना पक्राउ परेका छन् भने बर्दियामा १६६ घटनामा २४४ जना र रुपन्देहीमा १३७ घटनामा २३४ जना पक्राउ परेका छन्, जसमा स्वदेशी नागरिकका साथै उल्लेख्य संख्यामा भारतीय नागरिकहरूको समेत संलग्नता पाइएको छ। यसबाहेक दाङ, कपिलवस्तु र पश्चिम नवलपरासीमा गरी २०१ वटा घटनामा ३१४ जना पक्राउ परेका छन्।

प्रहरीको उमेर समूहगत विश्लेषणअनुसार प्रदेशभर नियन्त्रणमा लिइएका कुल एक हजार १८८ जना अभियुक्तहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संख्या मात्रै झण्डै ४२.५१ प्रतिशत अर्थात् ५०५ जना रहेको छ, जसले देशको मेरुदण्ड मानिएको युवा जनशक्ति कुलतको गम्भीर दलदलमा फसिरहेको देखाउँछ।

बरामद गरिएका लागुऔषधको प्रकृतिका आधारमा एक वर्षको अवधिमा प्रदेशभर ३७१ किलो ३५ ग्राम गाँजा, २२ किलो ९२ ग्राम चरेस, बर्दियाबाट २५ किलो ७० ग्राम अफिम र चार हजार सात सय ५९ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भइसकेको छ।

सबैभन्दा डरलाग्दो अवस्था औषधीजन्य लागुऔषधको देखिएको छ, जहाँ एक वर्षमा एक लाख चार हजार २८२ गोटा प्रतिबन्धित फर्मास्युटिकल ड्रग्स बरामद गरिएको छ, जसमा पश्चिम नवलपरासी र रुपन्देही अग्रस्थानमा छन्।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले लागुऔषध नियन्त्रणका लागि प्रहरीले चलाएका परम्परागत सचेतना र कारबाहीमूलक प्रयास मात्र पर्याप्त नभएकाले अब यसलाई समुदायस्तरमै बृहत् अभियानका रूपमा लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।

विशेष गरी सिन्थेटिक र औषधीजन्य लागुपदार्थको बिगबिगी सीमा क्षेत्रमा डरलाग्दो भएकाले सीमा सुरक्षा सतर्कता बढाउन भारतीय अधिकारीहरूसँग समन्वय गरी मुख्य कारोबारीको जरोसम्म पुग्नुपर्ने उनको निष्कर्ष छ।

यस्तै, लामो समयदेखि यस क्षेत्रमा मनोसामाजिक कार्य गर्दै आएका वरिष्ठ नशा, स्नायु तथा मनोरोग विशेषज्ञ प्रा.डा. मनोज ढुंगानाले बजारमा गाँजाको सहज उपलब्धता र कतिपय अवस्थामा किराना पसलहरूमा समेत चुरोटमा भरेर बिक्री गर्ने गरिएकाले सहरीया किशोरकिशोरीहरू यसको सिकार भइरहेको र सामान्य कफ सिरप वा चक्कीहरूलाई नशाका रूपमा दुरुपयोग गर्ने प्रवृत्ति अत्यधिक बढेकाले यसलाई रोक्न समाजका सबै सरोकारवाला पक्षहरू गम्भीर बन्नुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *