रास्वपा नेतृत्व असक्षम र अपरिपक्व देखियो, महाधिवेशनको ढिलासुस्तीले जनताका काम प्रभावित: ऐन महर

डिसी नेपाल
१२ असार २०८३ १४:५९

काठमाडाैं। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापकीय कमजोरीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीका क्रममा उनले १४२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहितका चर्चित अनुहारहरूको उपस्थिति र १०-१२ हजारको भीड जम्मा हुनुलाई ‘ठूलो कुरा’ मान्न नसकिने टिप्पणी गरे।

केवल ‘फेसबुक फ्यान फलोअर्स’ को भरमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने जिकिर गर्दै उनले चार हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी भएको कार्यक्रम सात दिनसम्म पुग्दा पनि सम्पन्न हुन नसक्नु अस्वभाविक र कमजोर व्यवस्थापनको पराकाष्ठा भएको संज्ञा दिए।

प्रमुख सचेतक महरले महाधिवेशनमा देखिएको चरम ढिलासुस्तीका कारण प्रत्यक्ष रूपमा जनताका दैनिक कामकारबाहीहरू प्रभावित भएको भन्दै रास्वपाको कडा आलोचना गरे।

अलोकतान्त्रिक निर्वाचन पद्धति अपनाएको र समयमै आन्तरिक प्रक्रियाहरू समेत सम्पन्न गर्न नसक्ने यस्तो नेतृत्वले देशको नेतृत्व गर्नै नसक्ने उनको ठम्याइ छ।

हचुवाको भरमा निर्णय लिने प्रवृत्तिका कारण रास्वपाको वर्तमान नेतृत्व असक्षम र अपरिपक्व रहेको प्रष्ट सन्देश जनतामा गएको दाबी गर्दै उनले यस्ता व्यवस्थापकीय कमजोरी र आन्तरिक कलहले पार्टीको विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको बताए।

रास्वपाले पुरानै शैलीको राजनीतिक अभ्यासलाई नयाँपनको जलप लगाएर जनतामा भ्रम छर्न खोजेको आरोप समेत महरले लगाए। हचुवामा निर्णय गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्न नसक्ने कार्यशैलीले कार्यकर्ता र आम जनतामा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

छोटो समयमै राजनीतिक वृत्तमा ठूलो चर्चा बटुल्न सफल भए पनि महाधिवेशन जस्तो महत्त्वपूर्ण र ऐतिहासिक अवसरमा रास्वपाले देखाएको यस्तो फितलो दृश्यले पार्टीको भविष्य र नेतृत्वको गम्भीरतामाथि नै गम्भीर प्रश्न उठाएको नेता महरले उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *