नयाँ-पुरानाको बहस सकियो, रास्वपा अब परिपक्व राजनीतिक शक्ति बन्यो : सभापति लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले रास्वपालाई एक परिपक्व र वैधानिक राजनीतिक शक्तिको रूपमा स्थापित गरेको बताएका छन्।
शपथ ग्रहणपश्चात् कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले महाधिवेशनले पार्टीभित्र रहेको ‘नयाँ र पुराना’ को बहसलाई पूर्णविराम लगाइदिएको दाबी गरे। “महाधिवेशनले सबैलाई जिम्मेवारी दिएर प्रतिनिधिले विशेष ख्याल राखेको छ। यसले पार्टीभित्र गुट-उपगुट रहेको भन्ने हल्लालाई चिरेको छ,” उनले भने, “नयाँ र पुरानाको विषय अब सकिएको छ। अब कसैले तुस राख्न पाइने छैन।”
सभापति लामिछानेले आफूहरूले अहिलेसम्म पूर्ण रूपमा परिपक्क राजनीति गर्न नसकेको स्वीकार गरे। उनले नयाँ दल भएका कारण केही कमजोरी र त्रुटि हुनु स्वाभाविक रहेको भन्दै नेता, कार्यकर्ता र प्रतिनिधिहरूसँग क्षमायाचना पनि गरे।
उनले भने, “हामीले परिपक्कता देखाउन नसकेको स्वीकार गर्छौं, तर यो कुनै गलत नियतले होइन। अब पार्टीलाई थप परिपक्व, व्यवस्थित र जनउत्तरदायी शक्ति बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै लामिछानेले भने, “लोकतान्त्रिक गणतन्त्र जोगाउने विषयमा कसैले शंका नगर्नुहोला। हामी दृढ छौं, तर शासकीय सुधारका विषयमा भने हाम्रो विमति छ। हामी यही व्यवस्थाभित्र रहेर सुधारका लागि काम गर्नेछौं।”
सभापति लामिछानेले पार्टीका नेता र सांसदहरूलाई आफ्ना अभिव्यक्तिप्रति बढी सचेत र जिम्मेवार बन्न आग्रह गरे। उनले भने, “हाम्रा हरेक अभिव्यक्तिलाई आम जनता र मतदाताले नजिकबाट नियालिरहेका छन्। मतदाताको ठूलो भरोसालाई कायम राख्न हामीले विशेष ध्यान दिनुपर्ने छ।”
उनले महाधिवेशनलाई सफल बनाउन योगदान पुर्याउने प्रतिनिधि, नेता, कार्यकर्ता तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्दै, फरक-फरक पृष्ठभूमिबाट राजनीतिमा आएकाले आगामी दिनमा आउने जुनसुकै चुनौतीको सामना गर्न तयार रहन निर्देशन दिए।






डिसी नेपाल





Facebook Comment