उस्मान डेम्बेलेको ह्याट्रिकसँगै नर्वेलाई हराउँदै फ्रान्स समूह विजेताका रूपमा नकआउट चरणमा

डिसी नेपाल
१३ असार २०८३ ६:२४

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेमाथि ४-१ को सानदार जित दर्ता गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न उक्त खेलमा फ्रान्सलाई जिताउन उस्मान डेम्बेलेले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफको ३२औँ मिनेटभित्रै आफ्नो ह्याट्रिक पूरा गरे। डेम्बेलेले खेलको सातौँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

लगत्तै २१औँ मिनेटमा नर्वेका थेलो आसगार्डले एक गोल फर्काएर खेलमा फर्कने प्रयास गरे पनि ३२औँ मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै आफ्नो ह्याट्रिक मात्र पूरा गरेनन्, फ्रान्सलाई ३-१ को बलियो स्थितिमा समेत पुर्‍याए।

खेलको दोस्रो हाफमा नर्वेले पुनरागमन गर्ने सुवर्ण अवसर गुमायो, जब ५०औँ मिनेटमा योर्गन स्ट्रान्ड लार्सन पेनाल्टीमार्फत गोल गर्न चुके। त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले थप एक गोल गरेपछि फ्रान्सले ४-१ को निश्चित जित हात पार्यो।

यस जितसँगै फ्रान्सले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ; यसअघि उसले सेनेगललाई ३-१ र इराकलाई ३-० ले पराजित गरेको थियो। पराजित भए तापनि २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ।

आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५-० को भारी गोलअन्तरले पराजित गरेको छ। समूह ‘आई’ को अन्तिम समीकरण अनुसार फ्रान्स नौ अङ्कसहित शीर्ष स्थानमा छ भने नर्वे ६ अंकसहित दोस्रो स्थानमा रह्यो। त्यस्तै, तीन अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहँदा कुनै पनि अंक जोड्न नसकेको इराक भने विश्वकपबाट बाहिरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *