स्वर्गद्वारी नगरपालिकाका उपमेयर सवार गाडी दुर्घटना, अवस्था अचेत

डिसी नेपाल
१३ असार २०८३ १८:५१

प्यूठान । स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरले चलाएको गाडी दुर्घटनामा परेको छ। शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगर सवार लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी–२ बाङ्गेशाल नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

उक्त गाडी सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका ५० वर्षीय राना मगर गाडीमा एक्लै थिए।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, डिएसपी नरहरि अधिकारीका अनुसार गाडीसँगै च्यापिएको अवस्थामा फेला परेका उपमेयर मगरले कुनै प्रतिक्रिया दिएका छैनन्। उनले भने, ‘उहाँ गाडीमा च्यापिएको अवस्थामा फेला पर्नुभएको छ। घटनास्थलबाट आएको जानकारीअनुसार उहाँको होस छैन, उद्धार कार्य जारी छ।’

अहिले घटनास्थलमा अस्थायी प्रहरी पोष्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धारमा खटिएको छ। अस्पताल पुर्‍याएपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त हुने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *