दाउरा निकाल्ने क्रममा बागमती नदीमा डुबेर रौतहटमा दुई बालकको मृत्यु
रौतहट। रौतहटको गढिमाई नगरपालिकामा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। गढिमाई नगरपालिका वडा नम्बर १ हरैया घाट स्थित बागमती नदीमा तैरिरहेको दाउरा निकाल्ने क्रममा डुबेर स्थानीय दुई बालकको ज्यान गएको हो।
मृत्यु हुनेहरूमा सोही स्थानमा बस्ने वर्ष ८ का आदित्य यादव र वर्ष ८ कै अनिकेस यादव रहेका छन्। नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा दुवै जना अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए।
बालकहरू नदीमा डुबेर बेपत्ता भएको खबर स्थानीयवासीले गरेलगत्तै उद्धार र खोजतलासका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस समनपुर र नेपाल प्रहरीको संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो।
नदीको विभिन्न सम्भावित स्थानहरूमा व्यापक खोततलास गर्ने क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका हुन्। संयुक्त टोलीले दिउँसो ३ः०५ बजे अनिकेस यादव र त्यसको केही समयपछि ३ः५० बजे आदित्य यादवको शव नदीबाट बाहिर निकालेको थियो।
एकै गाउँका दुई अबोध बालकको नदीमा डुबेर असामयिक निधन भएपछि हरैया क्षेत्र र आसपासका स्थानीयवासी शोकमा डुबेका छन्। वर्षायाम सुरु भएसँगै नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने भएकाले आफ्ना बालबालिकाहरूलाई नदी किनारमा एक्लै जान नदिन र सचेत रहन स्थानीय प्रशासन तथा सुरक्षा निकायले आग्रह गरेको छ।
मृतक बालकहरूको शवलाई कानुनी प्रक्रिया र प्राविधिक जाँचका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।












Facebook Comment