गोकर्णेश्वरमा असार १५ को उत्सव: २३औँ धान रोपाइँ र दही-चिउरा कार्यक्रम

डिसी नेपाल
१४ असार २०८३ २०:०१

काठमाडौँ । असार १५ (धान दिवस) को अवसर पारेर गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोक फाँटमा २३औँ धान रोपाइँ तथा दही–चिउरा कार्यक्रम आयोजना हुने भएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका समितिको सहआयोजनामा यो कार्यक्रम हुन लागेको हो।

सांस्कृतिक संस्थानको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सञ्चालन हुने यस उत्सवले नेपाली कृषि संस्कृति, रैथाने लोकपरम्परा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

यस वर्षको कार्यक्रममा परम्परागत शैलीमा धान रोपाइँ गर्नुका साथै दही-चिउरा खाने मौलिक संस्कृतिलाई उत्सवका रूपमा मनाइनेछ। कार्यक्रमलाई थप रोचक र उल्लासमय बनाउन लोकदोहोरी क्षेत्रका ख्यातिप्राप्त कलाकार कृष्ण कँडेलसहितको इन्द्रेणी टिम, राजु परियार, बद्री पङ्गेनी, रीता थापा मगर, किरणबाबु पुन, टीका सानु लगायतका चर्चित कलाकारहरूले आ-आफ्नो विशेष सांगीतिक प्रस्तुति दिनेछन्।

यसै सांस्कृतिक उत्सवको अवसर पारेर ‘गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार’ बाट रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी तथा गीतकार राम थापा अविरललाई नगद रु ५,५५५ र सम्मानपत्रसहित विशेष सम्मान गरिने कार्यक्रम तय भएको छ।

महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न सामाजिक क्षेत्र तथा संस्थाहरूले हातेमालो गरेका छन्। यसमा एक्ट्रीम इनर्जी ड्रिंक, इशा फाउन्डेसन, दरबार रोधी क्लब, सोफा हब तथा गायक प्रकाश कटवाल, समाजसेवी रामकृष्ण बराल, रमेश विश्वकर्मा र अनिल सेडाई लगायतको आर्थिक तथा भौतिक सहयोग रहने जनाइएको छ।

आयोजकले कृषि संस्कृति, मौलिक लोकसंगीत र सामाजिक एकतालाई सुदृढ बनाउने यस गरिमामय कार्यक्रममा स्थानीय बासिन्दा, सञ्चारकर्मी, कलाकार र संस्कृतिप्रेमी सम्पूर्णलाई उत्साहजनक रूपमा सहभागी भइदिन हार्दिक आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *