पोखराका दुई उत्कृष्ट किसान सम्मानित
कास्की। पोखरा महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई जना किसानलाई आज ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ।
पोखरा–२१ कृस्तीस्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की र पोखरा–२७ स्थित हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक कमला पाल्पाली खड्कालाई नगरप्रमुख धनराज आचार्यले जनही नगद रु २० हजार र सम्मानपत्र प्रदान गरे।
सम्मानित किसान कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा, विभिन्न तरकारी तथा पशुपालन गर्दै आएका छन्। उनले २४ रोपनी क्षेत्रफलमा बेमौसमी तरबुजा उत्पादन गरी व्यावसायिक कृषिमा नयाँ सम्भावना देखाएका छन्। वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि व्यवसाय सुरु गर्नुभएका कार्की अहिले कास्कीका उदाहरणीय व्यावसायिक किसानका रूपमा परिचित छन्।
यसैगरी, सम्मानित किसान खड्काले सञ्चालन गरेको हेब्रोन लाइभ स्टक फार्म आधुनिक तथा वैज्ञानिक प्रविधिमा आधारित नमूना दुग्ध उत्पादन केन्द्रका रूपमा विकास भएको छ। परम्परागत पशुपालनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित फार्मले जैविक सुरक्षा र दिगो कृषि प्रणाली अपनाउँदै स्थानीयस्तरमा दुग्ध उत्पादन, आपूर्ति तथा रोजगारी सृजनामा योगदान पुर्याउँदै आएको छ।
करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा उन्नत घाँसखेती, आधुनिक गोठ, दूध दुहुने विशेष कक्ष, दाना भण्डारणगृह, मल तथा जैविक फोहर व्यवस्थापन संरचना र प्रशासनिक भवन निर्माण गरिएको छ।
सम्मान कार्यक्रममा नगरप्रमुख आचार्यले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत किसानको आय वृद्धि तथा आत्मनिर्भर कृषि प्रणाली निर्माण महानगरको प्राथमिकतामा रहेको बताउनुभयो। “किसानको सम्मानले कृषि पेसाप्रति थप उत्साह र आकर्षण बढ्ने छ”, आचार्यले भने। महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले उत्कृष्ट किसानलाई सम्मान गर्नुको उद्देश्य अन्य किसानलाई पनि व्यावसायिक कृषि अपनाउन प्रेरित गर्नु रहेको बताए।
महानगरले साझेदारीमा अनुदान, कृषि उपकरण तथा विभिन्न प्राविधिक सहयोगमार्फत किसानलाई निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ। रासस






डिसी नेपाल





Facebook Comment