अमेरिका छिर्ने नारकीय बाटोको कथा डङ्की

डिसी नेपाल
१५ असार २०८३ १८:५०

काठमाडौं। डा. चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ सार्वजनिक भएको छ। काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा लेखक गिरीसहित मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासी, पत्रकार÷लेखक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी पथिकले उपन्यास लोकार्पण गरे।

कार्यक्रमका वक्ताहरुले डङ्की उपन्यासले आप्रवासन, सपनाको खोजी र मानवीय संघर्षको यथार्थ चित्रण गरेको बताए। देशको जल्दोबल्दो विषयलाई किताबले उजागर गरेको धारणा व्यक्त गरे। अमेरिका छिर्ने नारकीय मार्गबारे बारेको उपन्यास ‘तल्लो बाटो’ का रचनाकार कृष्ण धराबासीले ‘डङ्की’ आफ्नो रचनाभन्दा पनि आधिकारिक भएको बताए। ‘मैले केही पात्रहरुसँगको कुराकानीको आधारमा तल्लो बाटो लेखेको थिएँ। डा गिरीले सम्बन्धित ठाउँको भ्रमण गरेर लेखेका कारण यो किताब बढी आधिकारिक छ,’ उनले भने।

पत्रकार वसन्त बस्नेतले तथ्यलाई सरल र मिठासपूर्ण शैलीमा प्रस्तुत गरेको भन्दै लेखक गिरीको प्रशंसा गरे। ‘डङ्की रुट भएर अमेरिका हिँडेका नेपाली युवाको समाचार हामीले धेरै लेखेका छौं। गिरीले यसलाई औपन्यासिक शैलीमा प्रस्तुत गर्दै आख्यानको लय कायमै रोखको छ,’ उनले भने। लेखिका बिना थिङले आप्रवासन जस्तो गम्भीर विषयमा उपन्यास लेख्नु सजिलो काम नभएको बताइन्। राज्यको ध्यान जानुपर्ने विषयमा गिरीले कलम चलाएको भन्दै उनले यो विषयमा गहन बहसको आवश्यकता औंल्याइन्।

उपन्यासका लेखक डा चन्द्र गिरीले कोलम्बियाको नेकोक्ली शहरमा पुग्दा डङ्की रुटबाट अमेरिका हिँडेका केही नेपाली युवा भेटेपछि उपन्यास लेख्ने उपाय फुरेको बताए। लेखनका क्रममा आफूले तथ्यलाई उच्च महत्व दिएको बताउँदै उनले डङ्की केवल सीमा पार गर्ने यात्राको कथामात्र नभएर यो मानिसको आशा, साहस, निराशा र आत्मसम्मानको कथा भएको बताए। ‘संसारमा भेटिएका नेपाली तथा अन्य आप्रवासीहरुको अनुभवले यो उपन्यास लेख्न प्रेरणा दियो,’ उनले भने।

इलामको एक युवकले अमेरिका जान रोजेको डङ्की रूट र उसले गरेको यात्रालाई किताबमा प्रस्तुत गरिएको छ। डा गिरीका यसअघि मैले नदेखेको सपना (आत्मकथा) र संसारको सेरोफेरो (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *