‘लालीबजार’का अभिनेता विशाल देवकोटालाई डेब्यु फिल्मको सफलतासँगै जन्मदिनको दोहोरो खुसी
काठमाडौं। डेब्यु फिल्म ‘लालीबजार’बाट दर्शकमाझ बलियो पहिचान बनाउन सफल भएका अभिनेता विशाल देवकोटाले मंगलबार आफ्नो जन्मोत्सव मनाएका छन्। नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रूपमा परिचित देवकोटाका लागि यसपटकको जन्मदिन विशेष बनेको छ ।
सोमबार मात्रै आफ्नो डेब्यु फिल्म प्रदर्शनको ५१औँ दिन मनाएका विशालले मंगलबार जन्मदिन पर्दा आफूलाई दोहोरो खुसी मिलेको र यहाँबाट नयाँ यात्रा प्रारम्भ भएको महसुस गरेको बताएका छन् ।
फिल्ममा उनले निर्वाह गरेको नारायणको भूमिकालाई दर्शकले निकै मन पराएका छन्, जसमा उनी कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्त्व बुझाउने र इमानदार पात्रको रूपमा प्रस्तुत भएका थिए ।
सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल झन्डै ९ वर्ष अगाडि चितवनबाट काठमाडौँ आएका थिए । उनले कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतिर खिचिएको थियो ।
उक्त नाटक हेर्न पुगेका निर्देशक प्रदीप भट्टराई, रबिन र जेभीले उनलाई अफिसमा बोलाएर अडिसनको प्रक्रिया सुरु गराएका थिए । निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार उनको अभिनय कौशलताकै कारण अडिसनका विभिन्न चरण पार गर्दै उनी डेब्यु फिल्ममै अभिनेत्री स्वस्तिमा खड्काको जोडी बन्ने अवसर पाउन सफल भएका हुन् । रंगमञ्चको लामो सङ्घर्ष र अनुभवले नै फिल्मको ढोका खोलेको भन्दै उनले अहिले आफ्नो मेहनतको फल पाइरहेको अनुभूति गरेको बताएका छन् ।
उमेरका हिसाबले आफू परिपक्क भइसकेको बताउने विशाल पहिलो फिल्मबाटै दर्शकको अपार माया पाएर उत्साहित छन् । दर्शक भेटघाटका लागि मोफसल टुरमा निस्कँदा अधिकांश दर्शकले ‘छोरा होस् त नारायण जस्तो’ भन्दै प्रतिक्रिया दिएको उनले स्मरण गरे ।
‘लालीबजार’को सफलतासँगै फिल्म मेकरहरूको नजरमा परेका उनलाई नयाँ फिल्महरूबाट अभिनयको प्रस्ताव समेत आउन थालेको छ । केही मेकरहरूसँग कुराकानी भइरहेको भए पनि हालसम्म पहिलो फिल्मकै काममा व्यस्त रहेकाले आगामी प्रोजेक्टबारे औपचारिक निर्णय गरिनसकेको र अब छिट्टै नयाँ फिल्मको तयारीमा जुट्ने उनले जानकारी दिएका छन् ।






डिसी नेपाल





Facebook Comment