रास्वपा केन्द्रीय सदस्यबाट नाम हटाइएका शर्मा पुगे निर्वाचन आयोग, निर्णय सच्याउन माग

डिसी नेपाल
१६ असार २०८३ १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट नाम हटाइएका नेता सोम शर्माले निर्वाचन आयोगमा उजुरी दिएका छन्।

गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नामावलीबाट आफूलाई हटाउने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै शर्माले मंगलबार आयोगमा उजुरी दर्ता गराएका हुन्। उनले आफूलाई सूचीबाट हटाउनुको कारण स्पष्ट पार्न र सो निर्णय सच्याएर पुन: निर्वाचित सदस्यका रूपमा कायम गर्न माग गरेका छन्।

शर्माले आफ्नो उजुरीमा पार्टीको निर्णय विधानको दफा २२ (४) र निर्वाचनको आधारभूत सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्। ‘चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर पाँचौँ स्थानभन्दा माथिको मत परिणामलाई नै उल्ट्याउने गरी गरिएको निर्णय वैधानिक र न्यायसंगत छैन,’ उनले उजुरीमा उल्लेख गरेका छन्। उनले पार्टीको यो निर्णयले आफूलाई मात्र नभई मतदान गर्ने ९९३ जना प्रतिनिधिको जनादेशको समेत अपमान गरेको जिकिर गरेका छन्।

यसअघि महाधिवेशनमा ‘क्लस्टर’ मिलाउने क्रममा त्रुटि भएको भन्दै रास्वपाको आन्तरिक निर्वाचन आयोगले सूची सच्याएको थियो। सोही क्रममा कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाई उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरिएको थियो।

रास्वपाको निर्वाचन आयोगले भने कागजात तथा प्रमाणको पुनः अध्ययन गर्दा जनजाति क्लस्टरतर्फ ध्रुवकुमार थापामगर नै निर्वाचित हुनुपर्ने देखिएकाले सो निर्णय गरिएको प्रस्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *