९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

डिसी नेपाल
१६ असार २०८३ २१:३७

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिव ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिए। उनका अनुसार ती सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको छ।

अछाम र दैलेखमा पनि दादुराको जोखिम रहे पनि न्यून सङ्ख्यामा बिरामी भेटिएकाले अभियान सञ्चालन नगरेको उनले बताए। सरकारले यस वर्ष दादुरको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ जेठको अन्तिम सातादेखि असार १० गतेसम्म सञ्चालन गरेको थियो।

उहाँका अनुसार सर्लाहीमा १० हजार २५४, सिराहा दुई हजार ५५०, महोत्तरीमा ७७ हजार ९७, बागलुङमा पाँच हजार ९५०, कालीकोटमा ४१६, सुर्खेतमा दुई हजार ६७ र जाजरकोटमा तीन हजार ८०० जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। ती जिल्लाभरि नभएर दादुराको प्रकोप देखिएको स्थानीय तहका र वडामा मात्र खोप अभियान सञ्चालन गरिएको थियो।

दादुरा सङ्क्रामक रोग हो। एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्दछ। त्यसैले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको शाखा प्रमुख डा गौतमले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *