मध्यविन्दु नगरपालिका: फोहरलाई ‘सुन’ बनाउँदै, वातावरण र अर्थतन्त्रमा सुधार

डिसी नेपाल
१७ असार २०८३ ८:२७

मध्यविन्दु (नवलपरासी)। मध्यविन्दु नगरपालिकाले फोहर व्यवस्थापनलाई आम्दानीको स्रोतमा परिणत गर्दै नमुना कार्य गरेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको यो नगरपालिकाले घरघरबाट सङ्कलन गरिएको जैविक फोहरलाई प्रशोधन गरी मल उत्पादन गर्दै आएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा सुरु भएको यो परियोजनामा रु दुई करोड १३ लाख ८० हजार लगानी गरिएको थियो। पछिल्ला तीन वर्षमा नगरपालिकाले यस कार्यक्रममा रु छ करोड ५६ लाख खर्च गरेको छ भने सोही अवधिमा मल बिक्रीबाट रु तीन करोड पाँच लाख आम्दानी गरेको छ। हाल १४ हजार आठ सय १६ घरपरिवार यस अभियानमा सहभागी छन्।

नगरप्रमुख भीमलाल अधिकारीका अनुसार यस परियोजनाले वातावरण संरक्षण, सरसफाइ र आर्थिक आयआर्जन गरी तीनवटै क्षेत्रमा सफलता प्राप्त गरेको छ। स्थानीय किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि खेतीपातीमा समेत सकारात्मक प्रभाव परेको छ। प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीका अनुसार यो केन्द्र अहिले आफ्नो वार्षिक सञ्चालन खर्च आफैँ धान्न सक्ने अवस्थामा पुगेको छ। अन्य स्थानीय तहका लागि समेत मध्यविन्दुको यो प्रयास एउटा प्रभावकारी मोडेलको रूपमा स्थापित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *