रास्वपा केन्द्रीय समिति बैठक: मनोनयनको अधिकार सभापतिलाई, तीन आयोगले पाए नेतृत्व
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सांगठनिक र प्रशासनिक क्षेत्रमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
पहिलो महाधिवेशन सम्पन्न भएलगत्तै बुधबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका थिए, जसको लगत्तै पहिलो केन्द्रीय समिति बैठक सञ्चालन गरिएको थियो।
बैठकको सुरुमा पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबै सरोकारवाला पक्षहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको थियो।
महाधिवेशनपछिको पहिलो बैठक भएकाले यस पटक मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूबीच आपसमा बधाई तथा शुभकामना आदानप्रदान गरिएको थियो। बैठकमा पार्टीका तीनवटा महत्वपूर्ण विभागहरूमा नेताहरूको कार्यविभाजन र जिम्मेवारीका विषयमा प्रारम्भिक छलफलसमेत सुरु भएको छ। यद्यपि, पार्टीको सचिवालय, पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा तत्कालका लागि भने कसैलाई पनि मनोनित नगर्ने निर्णय बैठकले गरेको छ।
रास्वपाको विधानअनुसार ५१ जना केन्द्रीय सदस्य, ३३ जना सचिवालय सदस्य र १० जना पदाधिकारी मनोनित गर्ने विशेष अधिकार पार्टी सभापतिलाई रहेको छ। महामन्त्री निशा डाँगीका अनुसार केन्द्रीय समितिले सो अधिकार पूर्ण रूपमा सभापतिलाई सुम्पिसकेको र आगामी दिनमा आवश्यकताका आधारमा बिस्तारै मनोनयन प्रक्रियालाई अघि बढाइने छ।
यसैबीच, केन्द्रीय समिति बैठकले पार्टीका तीनवटा प्रमुख आयोगहरूको नेतृत्व भने टुंगो लगाएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री हरि ढकालले निर्वाचन, लेखा र अनुशासन आयोगमा नेतृत्व चयन गरिएको जानकारी दिए।
जसअनुसार निर्वाचन आयोग र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय भएको छ भने अनुशासन आयोगमा नयाँ नेतृत्व चयन गरिएको छ। अनुशासन आयोगको प्रमुख पदमा कास्की निवासी पूर्वन्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ।






डिसी नेपाल





Facebook Comment