संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्तिको एजेन्डासहित आज संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को महत्त्वपूर्ण बैठक बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ५ बजे बस्ने गरी आह्वान गरिएको यस बैठकमा लामो समयदेखि विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका पदहरूमा नियुक्ति सिफारिस गर्ने विषयमा सघन छलफल हुने भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकको मुख्य ध्यान रिक्त पदहरू पूर्ति गरी संवैधानिक निकायहरूलाई पूर्णता दिनेमा केन्द्रित रहनेछ।
हाल विभिन्न प्रमुख आयोगहरूमा महत्वपूर्ण पदहरू खाली रहेका छन्, जसले गर्दा ती निकायहरूको दैनिक तथा नीतिगत कार्यसम्पादनमा असर परिरहेको छ।
अहिले निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्य र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन्।
यसैगरी राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद खाली छ भने भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि एक सदस्य पद रिक्त रहेको छ।
यसका साथै थारू आयोगमा अध्यक्षसहित दुई, मधेसी आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र महिला आयोगमा एक सदस्य पद खाली रहेका छन्।
यी सबै महत्त्वपूर्ण रिक्त पदहरूमा उपयुक्त उम्मेदवारहरूको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक प्रावधान रहेको छ।
आजको बैठकले ती पदहरूमा योग्य व्यक्तिहरूको नाम सिफारिस गरेमा संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ, जसले राज्यका यी संयन्त्रहरूलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment