विपद् व्यवस्थापनका लागि कोशीमा नेपाली सेनाको ‘अभ्यास मनसुन’: उद्धार टोली २४सै घण्टा तयारी अवस्थामा

डिसी नेपाल
१९ असार २०८३ १४:४७

काठमाडौं। नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटहरूले छैटौं संस्करणको ‘अभ्यास मनसुन’ सफलतापूर्वक सम्पन्न गरेका छन्।

मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी तथा सवारी दुर्घटना जस्ता सम्भावित विपद्लाई लक्षित गर्दै सेनाले सम्पूर्ण सुरक्षा निकायहरूसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी पूरा गरेको छ।

पूर्वी पृतनापति एवं नेपाली सेनाका उपरथी गौरवकुमार केसीका अनुसार विपद् प्रतिकार्यका लागि काठमाडौंस्थित श्री नं १ विपद् व्यवस्थापन गणबाट दक्ष जनशक्ति आवश्यक उपकरणसहित इटहरीमा तयारी अवस्थामा राखिएको छ भने कोशीका सबै जिल्लाहरूमा उद्धार टोलीलाई चौबिसै घण्टा तैनाथ गरिएको छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन डुङ्गा, लाइफ ज्याकेट, डोरी, स्ट्रेचर, कटर र आधुनिक सञ्चार उपकरण जस्ता अत्यावश्यक सामग्रीहरूको उचित व्यवस्थापन समेत भइसकेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनबमोजिम सबै तहमा मनसुन प्रतिकार्य कमाण्ड पोष्ट स्थापना गरी कार्यान्वयनमा ल्याइएको छ। यसका साथै प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिहरूसँग आपसी समन्वय र सूचना आदान-प्रदानको व्यवस्थालाई थप सुदृढ बनाइएको छ।

मौसम पूर्वानुमान तथा बाढीपहिरोसम्बन्धी पूर्वसूचनाको निरन्तर निगरानी भइरहेको र आवश्यक परेको खण्डमा तत्काल उद्धार तथा राहत परिचालन गर्न हेलिकप्टर समेत इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरणका लागि सेनाले सम्पूर्ण प्राविधिक र भौतिक तयारी मजबुत पारेको हो।

विभिन्न सवारी दुर्घटना वा प्राकृतिक प्रकोपका कारण हुन सक्ने ठूलो हताहतीको अवस्थालाई मध्यनजर गर्दै इटहरीस्थित सैनिक अस्पतालबाट छिटो र प्रभावकारी ढंगले आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न विशेष पूर्वाभ्यास समेत सञ्चालन गरिएको छ।

सम्भावित जोखिमलाई न्यून गर्न सेनाले आम नागरिकलाई सरकारी तथा आधिकारिक सूचनाहरूको पूर्ण पालना गर्न, जोखिमयुक्त क्षेत्रहरूमा अनावश्यक आवतजावत नगर्न र कुनै पनि आपत्कालीन अवस्था सिर्जना भएमा ढिला नगरी नजिकको सुरक्षा निकायमा तत्काल सम्पर्क गर्न विशेष आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *