ऊर्जामन्त्री श्रेष्ठद्वारा भेरी–बबई डाइभर्सनको अनुगमन
काँक्रेविहार (सुर्खेत)। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनाको निरीक्षण एवं अनुगमण गरेका छन्।
मन्त्री श्रेष्ठले आज आयोजनाको बाँधस्थल रहेको भेरीगङ्गा नगरपालिकाको चिप्लेस्थित विभिन्न भौतिक संरचनाको अवलोकन गरेका हुन्। आयोजनाको निर्माणस्थलमै पुगेर मन्त्री श्रेष्ठले आयोजनाको विषयमा छलफल भएको छ।
मन्त्री श्रेष्ठले भने, ‘धेरैअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना अब थप ढिलाइ नगरी सम्पन्न गर्ने उद्देश्यका साथ आज सम्बन्धित निकाय र सरोकारवालासँग स्थलगत छलफल गरी आयोजनालाई नतिजामुखी रूपमा अघि बढाउने विषयमा आवश्यक विमर्श गरेका छौँ।’
आयोजना सम्पन्न भएसँगै बाँके, बर्दियाँका ५१ हजार हेक्टर जमिनमा सिँचाइ हुनुका साथै साथै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए।
कर्णाली प्रदेशमा विद्युत् मिटरको अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधानतर्फ महत्त्वपूर्ण प्रगति हुने विश्वास गरिएको छ। हाल माग भएका पाँच हजार मिटरमध्ये दुई हजार थान आपूर्ति भई जडान प्रक्रिया सुरु भइसकेको जानकारी गराएको छ। बाँकी तीन हजार थान मिटर ७ दिनभित्र उपलब्ध हुने बताएको छ।
सुर्खेतको लो–भोल्टेज समस्या समाधानका लागि आवश्यक बजेट विनियोजन भई स्तरोन्नतिको काम केही महिनाभित्र सुरु हुनेगरी प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठले बताए। करिब ८० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको सुर्खेत वितरण केन्द्रमा सेवाग्राहीहरूको गुनासो र समस्या प्रत्यक्ष सुन्ने अवसर प्राप्त भएको उनको भनाइ छ।






डिसी नेपाल





Facebook Comment