प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे
गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकीद्वारा आज पोखरामा आयोजित ‘गण्डकी प्रेस समिट’को उद्घाटन सत्रमा उहाँले सरकारको नेतृत्वमा जुनसुकै दल भए पनि प्रेसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए। ‘प्रेस जगत् स्वतन्त्र हुनुपर्छ त्यसमा दुई मत छैन, पत्रकारिता पनि सत्यतथ्यमा आधारित, विश्वसनीय र जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबारे नागरिकलाई पनि सुसूचित गर्नु जरुरी छ।’
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कमीकमजोरी गर्दा निर्धक्क भएर कलम चलाउन आग्रह गरे। उनले आफू व्यक्तिगत हिसाबले पनि सँधै प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताए।
मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा बहसमूलक सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका अग्रज पत्रकारलाई सम्मान गरिएको थियो। सोही अवसरमा ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि विमोचन गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment