१०२ वर्षीय दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासको भव्य रथारोहण र सुवर्णपुर नागरिक सम्मान

डिसी नेपाल
२१ असार २०८३ ८:२०

काठमाडौं। नेपालको आधुनिक चिकित्सा इतिहासका आदिपुरुष एवं वरिष्ठ समाजसेवी डा. गौरीशंकर लाल दासलाई १०२ वर्षको उमेरमा नागरिक स्तरबाट भव्य रथारोहण र सुवर्णपुर नागरिक सम्मान प्रदान गरिएको छ।

काठमाडौँ महानगरपालिका वडा नं. ७, जनप्रतिनिधि, स्थानीय सामाजिक संघसंस्था र वडावासीको सक्रियतामा उनको स्वास्थ्य, मानवअधिकार, रेडक्रस र समाजसेवामा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै यो नागरिक अभिनन्दन गरिएको हो।

वि.सं. १९८१ मा सिराहाको इनरुवामा पिता जनार्दन लाल दास र माता भवानी देवीको कोखबाट जन्मिएका डा. दासलाई यसअघि नै राज्य तथा नागरिक स्तरबाट ‘दिव्य शताब्दी पुरुष’ को गरिमामय उपाधि प्रदान गरिसकिएको छ।

सम्मान कार्यक्रमअन्तर्गत शताब्दी पुरुष डा. दासलाई चाबहिलस्थित उनकै निवासबाट परम्परागत बग्गीमा राखी भव्य रूपमा रथारोहण गराइएको थियो। बाजागाजा र सांस्कृतिक झाँकीसहित निस्किएको उक्त रथयात्राले चाबहिल र सुवर्णपुर क्षेत्रका विभिन्न स्थानहरूको परिक्रमा गरेको थियो, जहाँ उनलाई दर्शन र सम्मान प्रकट गर्न स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

सात दशक लामो व्यावसायिक तथा सामाजिक जीवनमा निष्कलंक र देवतुल्य छवि बनाएका डा. दासको स्वागतमा स्थानीयहरूले पुष्पवृष्टि गर्नुका साथै उनको दीर्घायुको कामना गरेका थिए।

उक्त नागरिक अभिनन्दन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली कांग्रेसका सभापति गगन थापाले डा. दासले भारतमा चिकित्सा शिक्षा हासिल गरेपछि नेपाल फर्केर वीर अस्पताललगायत विभिन्न सरकारी अस्पतालमा लामो समयसम्म नेपाली नागरिकको सेवामा आफूलाई समर्पित गरेको स्मरण गरे।

डा. दासको योगदान अतुलनीय रहेको चर्चा गर्दै सभापति थापाले उनले जीवनभर स्वास्थ्य सेवा र सामाजिक रूपान्तरणमार्फत पुर्‍याएको योगदान भावी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहने उल्लेख गरे। ऐतिहासिक र उदाहरणीय व्यक्तित्वको सम्मानमा यति भव्य कार्यक्रम आयोजना गरेको भन्दै उनले काठमाडौं महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष विमल हाडा र सम्पूर्ण वडावासीप्रति विशेष धन्यवाद समेत ज्ञापन गरे।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले डा. दासले काठमाडौंवासी र समग्र देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको ऐतिहासिक योगदानको चर्चा गरिन्। उनले डा. दासको अथक सेवा, निष्ठा र निष्कलंक जीवनलाई महानगरवासीले सधैँ गौरव र सम्मानका साथ सम्झिरहने बताइन्।

वि.सं. २०७५ मा राष्ट्रिय सदाचार सम्मान र त्यसपछि विभिन्न मानवअधिकार पुरस्कारहरूबाट विभूषित डा. दासले राष्ट्रिय मानवअधिकार आयोगको सदस्य तथा नेपाल रेडक्रस सोसाइटीमा रहेर पनि देशलाई ठूलो गुन लगाएका छन्।

भव्य नागरिक अभिनन्दन र रथारोहणबाट भावुक बनेका १०२ वर्षीय दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले नागरिक स्तरबाट प्राप्त यो सम्मान आफ्नो जीवनकै सबैभन्दा खुसी र गौरवको क्षण भएको बताए।

लोभ, मोह र आशक्तिभन्दा धेरै माथि उठेर जीवनभर समाजको हितमा काम गरेका डा. दासले समाजमा दया, करुणा र मानवीय भावनाको सधैँ विकास हुनुपर्नेमा जोड दिए। पूर्वउपराष्ट्रपति परमानन्द झा, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, दासका परिवारजन, आफन्त र हजारौँ स्थानीय नागरिकहरूको सहभागिता रहेको उक्त समारोहले देशका लागि निःस्वार्थ सेवा गर्ने राष्ट्रिय पुरोधाहरूको सम्मान गर्ने एउटा उत्कृष्ट र उदाहरणीय परम्परा स्थापित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *