युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

डिसी नेपाल
२१ असार २०८३ १८:४७

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन्।

नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे।

उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), हरित नवप्रवर्तन, उद्यमशीलता तथा ज्ञानमा आधारित उद्योगहरूले व्यापार सञ्चालनको स्वरूप परिवर्तन गरिरहेको बताए। यस्तो परिवर्तित परिवेशमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

अग्रवालले नेपालमा ऊर्जाशील, प्रतिभाशाली र महत्वाकांक्षी युवा जनशक्ति रहेको उल्लेख गर्दै नवप्रवर्तन, उद्यमशीलता, लगानी तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सके यसलाई आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए।

उनले नेपाल युथ चेम्बरलाई युवा उद्यमीहरूको नेतृत्व विकास, विचार आदान–प्रदान, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार तथा राष्ट्रिय आर्थिक नीतिमा अर्थपूर्ण योगदान गर्ने प्रभावकारी मञ्चका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

नेपाल चेम्बर अफ कमर्स युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नीतिगत वकालत, व्यापारिक सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय साझेदारी, डिजिटल रूपान्तरण तथा नवप्रवर्तनमुखी कार्यक्रममार्फत सहयोग गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।

समारोहमा नव–नियुक्त सदस्यहरूलाई बधाई दिँदै अग्रवालले उनीहरूको सहभागिताले नेतृत्व क्षमता, इमानदारिता र जिम्मेवारीप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे। उनले नयाँ सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको गरिमा र उद्देश्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

अग्रवालले नेतृत्व अधिकारले नभई सेवाभावले मापन हुने उल्लेख गर्दै पद प्रतिष्ठाको विषय मात्र नभई अरूका लागि अवसर सिर्जना गर्ने जिम्मेवारी पनि भएको बताए। उनले साँचो नेतृत्वले आत्मविश्वास अभिवृद्धि गर्ने, सहकार्यलाई प्रवद्र्धन गर्ने तथा संस्थालाई अझ सुदृढ बनाउने धारणा व्यक्त गरे।

उनले नेपाल युथ चेम्बरका नयाँ सदस्यहरूले उत्कृष्टता, नवप्रवर्तन र राष्ट्रिय सेवाको भावनालाई आत्मसात् गर्दै संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ललगायतले मन्तब्य राखे। त्यस्तै, नेपाल युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले युवा उद्यमीहरूको भूमिकाबारे प्रष्ट पारेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *