विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।
शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले कार्यालयका कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्। उक्त जानकारी विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीले दिएका छन्।
नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्काउनका लागि कर्मचारीहरूलाई ढाका टोपी लगाउन निर्देशन दिइएको सूचना अधिकारी भण्डारीले बताए। ‘पर्यटकहरू नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले देख्ने स्थान अध्यागमन भएकाले त्यहाँ कार्यरत कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशको छवि झल्काउँछ,’ उनले भने।
मन्त्री गुरूङको निर्देशनपछि शनिबारदेखि नै केही कर्मचारीले टोपी लगाउन सुरू गरेका थिए। आइतबारसम्ममा भने लगभग सबै कर्मचारीले नेपाली टोपी लगाउन थालिसकेको कार्यालयले जनाएको छ।






डिसी नेपाल





Facebook Comment