शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

डिसी नेपाल
२१ असार २०८३ २२:०१

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमसम्बन्धी समीक्षा कार्यक्रममा उहाँले राजनीतिक स्थिरता कायम राख्दै सरकारले पाँच वर्षको जनादेशअनुसार काम गर्न पाउनुपर्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्रीको मुख्य जिम्मेवारी सिंहदरबारमा बसेर शासकीय सुधारलाई अघि बढाउनु रहेको उल्लेख गर्दै सभापति थापाले त्यसमा निरन्तरता कायम रहोस् भन्ने कांग्रेसको अपेक्षा रहेको बताए।

उनले सरकारको कार्यशैलीका केही विषयमा पार्टीको असहमति रहे पनि प्रतिपक्षको जिम्मेवारीअनुसार रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे। “राजनीतिक स्थिरता तलमाथि नहोस् भनेर हामी सरकारलाई समर्थन गरेका छौँ । प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्छौँ, समर्थन गर्नुपर्ने ठाउँमा समर्थन गर्छौँ,” उनले भने।

विगतमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पनि बहुमतको सरकार सञ्चालन गरेको स्मरण गर्दै सभापति थापाले बहुमतलाई देश र व्यवस्थाको हितमा सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। सरकारले पाएको पाँच वर्षको जनादेशलाई सम्मान गर्दै त्यसलाई सफल बनाउन आवश्यक सहयोग गर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *