धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’: मन्त्री पौडेल

डिसी नेपाल
२१ असार २०८३ २२:४५

म्याग्दी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताएका छन्।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्रको आज निरीक्षणपछि मन्त्री पौडेलले देवभूमि सर्किट बनाउन पौराणिककालका तथ्यको पहिचानका लागि मन्त्रालयले अध्ययन थालेको जानकारी दिए।

“धर्मग्रन्थका देवीदेवता, धर्मगुरु, प्रसिद्ध लामा र ऋषिमुनिहरूले तपस्या बसेको, यात्रा गरेको बाटो पहिचान गरेर त्यहाँ पर्यटक भित्र्याउने सरकारको योजना हो”, उनले भने, “देवभूमि सर्किटमा समेटिएका गन्तव्य पहिचान गरी सरकारले पूर्वाधार र प्रवर्द्धनमा लगानी गर्न बजेट विनियोजन गरेको छ।”

दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, पुलाश्रम, बागलुङ कालिका, कालञ्जर पर्वत, देवघाटलगायत कालीगण्डकी करिडोरलाई देवभूमि सर्किटका रूपमा विकास गर्ने योजना रहेको मन्त्री पौडेलको भनाइ थियो। पर्यापर्यटन, प्राकृतिक, साहासिकसँगै आरोग्य पर्यटन विकासमा पनि सरकारले जोड दिएको उनले बताए।

मन्त्री पौडेलले आजै बेनी नगरपालिका–९ गलेश्वर शिवालयको दर्शन र क्षेत्र विकास कोषका पदाधिकारीहरूसँग छलफल गरे। स्थानीय तहहरूसँगको साझेदारीमा शाकाहारी र न्यून बजेटमा तीर्थयात्राका लागि आउने पर्यटकलाई लक्षित गरेर धर्मशाला सञ्चालनको तयारी गरेको उनले जानकारी दिए।

मन्त्री पौडेलले धार्मिक संस्थाहरूसँग भएको कोषलाई परिचालन गरेर सरकारले पूर्वाधार र प्रवर्द्धनको क्षेत्रमा लागत साझेदारीका योजना तथा कार्यक्रम बनाएको बताए। गलेश्वर शिवालय क्षेत्र विकास कोषका प्रमुख संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन, सदस्यसचिव सम्मरबहादुर थापालगायतले अवस्था, योजना र सरकारसँगको अपेक्षाका विषयमा जानकारी गराएका थिए।

त्यसैगरी, मन्त्री पौडेललाई मुस्ताङबाट फर्कने क्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण आधार शिविरमा सञ्चार, विद्युत् सुविधा विस्तार तथा आवास व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए। शनिबार मुस्ताङको मुक्तिनाथ र कोरलानाकाको भ्रमण गरेका मन्त्री पौडेलको टोली आइतबार बेनी हँुदै सडकमार्ग भएर काठमाडौं फर्किएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *