काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्री लम्सालको चेतावनी

डिसी नेपाल
२२ असार २०८३ ११:५७

काठमाडौँ । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले जनताको पक्षमा काम नगर्ने जिम्मेवार पदाधिकारी र जनप्रतिनिधिहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले काममा बेवास्ता गर्ने प्रदेशका मन्त्रीहरूलाई थुन्ने र स्थानीय तहका प्रमुख (मेयर) लाई समेत कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

स्थानीय नागरिक तथा पार्टी कार्यकर्ताहरूसँगको अन्तर्क्रियाका क्रममा मन्त्री लम्सालले विकास निर्माण र सेवा प्रवाहमा देखिएका बेथिति र ढिलासुस्तीलाई सरकारले टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारे ।

‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस्,’ उनले भने, ‘त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, आवश्यक कारबाही गर्छौं । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी ।’

वर्तमान सरकारले गफभन्दा पनि काम र सुशासनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले जसरी पनि काम हुनुपर्नेमा जोड दिएका छन् । मन्त्री लम्सालले सार्वजनिक मञ्चबाटै स्थानीय र प्रदेश सरकारका पदाधिकारीहरूलाई लक्षित गरी दिएको यो पछिल्लो आक्रामक अभिव्यक्ति र भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।

सङ्घीय संरचनामा स्वायत्त रहने स्थानीय तह र प्रदेश सरकारका मन्त्रीहरूलाई सङ्घीय मन्त्रीले सिधै थुन्ने वा कारबाही गर्ने क्षेत्राधिकार नहुने भन्दै राजनीतिक वृत्तमा उनको यो बोलीको आलोचना समेत सुरु भएको छ ।

यसअघि पनि मुग्लिन-नागढुङ्गा सडक अनुगमनका क्रममा समयमै काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ र ‘थुन्ने’ अभिव्यक्ति दिएका कारण मन्त्री लम्साल संसद् र सार्वजनिक सञ्चारमाध्यमहरूमा निकै विवाद र आलोचनामा परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *