बिजुलीको बिलले खोल्यो फ्ल्याटभित्रको डरलाग्दो रहस्य

डिसी नेपाल
२२ असार २०८३ १४:५५

काठमाडौँ । बाहिरबाट हेर्दा एउटा सामान्य जीवन बिताइरहेको छिमेकीको बन्द कोठा भित्र सयौँको सङ्ख्यामा खतरनाक अजिङ्गर (पाइथन) पालिएका होलान् भनेर कसैले कल्पना सम्म गर्न सक्दैन ।

चीनको झेजिआङ प्रान्तको ताइझोउ सहरमा यस्तै एउटा अनौठो र स्तब्धकारी घटना सार्वजनिक भएको छ, जहाँ एउटा फ्ल्याटबाट ३०९ वटा अजिङ्गर बरामद गरिएको छ । कुनै सुराकीले नभई एउटा अजिङ्गरको पलायन र घरको बिजुलीको बिलले यो विशाल अवैध नेटवर्कको पर्दाफास गरिदिएको हो ।

घटनाको सुरुवात सन् २०२४ को मार्च महिनामा भएको थियो, जब एक वृद्धले पहाडी इलाका नजिकै एउटा अनौठो र ठूलो सर्प देखेर स्थानीय प्रशासनलाई खबर गरे । वन्यजन्तु अधिकारीहरूले अनुसन्धान गर्दा उक्त सर्प रैथाने प्रजातिको अजिङ्गर नभएको र मार्चको चिसो मौसममा यसरी खुला रूपमा सक्रिय हुनु अस्वाभाविक भएको निष्कर्ष निकाले ।

यो कुनै घर वा फार्मबाट भागेको हुनसक्ने शङ्कामा पुलिसले अनुसन्धान अघि बढायो । सर्पविज्ञहरूका अनुसार अजिङ्गरलाई जीवित राख्न २० देखि ३० डिग्री सेल्सियसको कृत्रिम तातो वातावरण आवश्यक पर्ने र त्यसका लागि अत्यधिक बिजुली खपत हुने जानकारी पाएपछि प्रहरीले सो क्षेत्रका घरहरूको बिजुलीको महसुल विवरण खंगाल्यो ।

यसै क्रममा गुओ नामका एक बेरोजगार र अविवाहित व्यक्तिको फ्ल्याटमा अस्वाभाविक रूपमा अत्यधिक बिजुली खपत भइरहेको पाइएपछि प्रहरीको शङ्का सोझियो । अनुसन्धानका क्रममा गुओको घरमा ‘दी’ नामका अर्का व्यक्ति अक्सर आउने-जाने गरेको र उनले अनलाइनमार्फत सर्पलाई खुवाउनका लागि प्रयोग गरिने सेता मुसाहरू नियमित पार्सल गरी मगाउने गरेको खुल्यो ।

गुओको सामाजिक सञ्जालमा सर्पका तस्बिरहरू भेटिनु र उनीहरूले अन्य व्यक्तिलाई अजिङ्गर बिक्री गरेको प्रमाण फेला परेपछि प्रहरीले उक्त फ्ल्याटमा छापा मार्यो । जब प्रहरी टोलीले ढोका खोलेर भित्र प्रवेश गर्‍यो, त्यहाँको दृश्य देखेर अधिकारीहरू नै दङ्ग परे । उक्त फ्ल्याटको दुईवटा बेडरुम र बैठक कोठा पूर्ण रूपमा अजिङ्गरको कब्जामा थिए ।

कोठाहरूमा एउटामाथि अर्को गरी सयौँ प्लास्टिकका बक्सहरू राखिएका थिए, जसमा कुल ३०९ वटा जीवित अजिङ्गरहरू फेला परे । अचम्मको कुरा त के छ भने, सँगैको भित्ता जोडिएको अपार्टमेन्टमा बस्ने छिमेकीहरूले समेत यति ठूलो सङ्ख्यामा सर्प पालिएको पत्ता पाउन सकेका थिएनन् ।

सोधपुछका क्रममा मुख्य अभियुक्त गुओले आफूलाई बाल्यकालदेखि नै सर्प पाल्ने रुचि रहेको र सन् २०१४ मा चारवटा अजिङ्गर किनेर आफैँले ब्रिडिङ (उत्पादन) सुरु गरेको स्वीकार गरे । उनले आफू फरक-फरक रङका अजिङ्गरहरू उत्पादन गर्न सक्षम रहेको दाबी समेत गरे ।

अनुसन्धानबाट गुओ र उनको साथीले अहिलेसम्म ८० वटा अजिङ्गर बेचिसकेको पुष्टि भयो । प्रहरीले सन् २०१४ मा सुरुवाती सर्प बेच्ने पसले ‘देङ’ लाई पनि पक्राउ गर्‍यो, जसको घरबाट थप ४७ वटा अजिङ्गर बरामद भए ।

यस पूरा अपरेसनमा कुल ४३६ वटा अजिङ्गरहरू बरामद गरिएका छन्, जसको अनुमानित बजार मूल्य ३ करोड युआन (अर्बौँ नेपाली रुपैयाँ) भन्दा बढी रहेको बताइएको छ । चीनको कानुन अनुसार अजिङ्गर संरक्षित वन्यजन्तुको सूचीमा पर्ने भएकाले अनुमतिविना यसको व्यावसायिक पालन र खरिद-बिक्री पूर्ण रूपमा अवैध मानिन्छ ।

स्थानीय अदालतले वन्यजन्तु तस्करी र अवैध पालनको अभियोगमा गुओ, दी र देङ तीनै जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ । बरामद गरिएका सबै अजिङ्गरहरूलाई सुरक्षित रूपमा स्थानीय चिडियाखानामा पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *