सांसद नीतिमा कार्कीको प्रश्न- ‘नियामक निकाय नै ठगको संरक्षक बनेपछि गरिबले न्याय कहाँ खोज्ने?’

डिसी नेपाल
२२ असार २०८३ १६:५३

काठमाडौं। वैदेशिक रोजगारीका नाममा भइरहेको चरम ठगी, सरकारी उदासीनता र मधेसका युवाहरूले भोग्नुपरेको नारकीय पीडाप्रति संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद नीतिमा कार्कीले आफ्नै निर्वाचन क्षेत्र सर्लाहीको भयावह अवस्था चित्रण गर्दै नियामक निकाय नै ठगहरूको संरक्षक बनेको आरोप लगाएकी हुन्।

सदनमा बोल्दै उनले सर्लाहीबाट मात्रै दैनिक ३० देखि ४० जना युवाहरू रोजगारीका लागि विदेशिने गरेको तथ्यांक प्रस्तुत गरिन्। तर, तीमध्ये धेरै युवाहरू ‘अवैध काम’ र ‘ओभरस्टे’ को बहानामा विभिन्न देशका जेलमा सडिरहेका छन् भने वार्षिक २२ देखि ३० जना युवाहरूको शव बाकसमा फर्किने गरेको दर्दनाक वास्तविकता उनले सुनाइन्। यस्तो संवेदनशील अवस्थामा पनि नेपाल सरकारले पीडित परिवारको आँसु पुछ्ने सामान्य वास्ता समेत नगरेको उनको गुनासो थियो।

सांसद कार्कीले सर्लाही ईश्वरपुरकी शिवकुमारी रामको प्रतिनिधिमूलक घटना सदन समक्ष राखिन्। शिवकुमारीले जसोतसो ऋण काढेर एजेन्टलाई १ लाख ४५ हजार रुपैयाँ बुझाएर श्रीमान् सुरेन्द्र रामलाई विदेश पठाएकी थिइन्। तर, हाल सुरेन्द्र विदेशको जेलमा रहेका र उनको अवस्थाबारे कुनै खबर नभएको बताइएको छ।

“मैले यस विषयमा श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय दुवैमा निरन्तर पहल गरेँ, तर एक महिना बितिसक्दा पनि सरकारका तर्फबाट कुनै जवाफ आएको छैन,” सांसद कार्कीले भनिन्, “सुरेन्द्र रामको अवस्था तुरुन्त पत्ता लगाई उनलाई नेपाल फर्काउने पहल गरियोस्।”

अर्को एक घटना सार्वजनिक गर्दै चन्द्रनगर–पोखरियाका ४ जना युवाहरू ‘गोल्ड ओभरसिज’ म्यानपावर मार्फत कुवेत पुगेका थिए। त्यहाँ पुगेपछि ३ महिनासम्म तलब नपाएर भोकभोकै परेपछि उनीहरूले यता एजेन्टविरुद्ध उजुरी गरेका थिए। तर, उल्टै ती निर्दोष युवाहरूलाई कुवेतमा २१ दिनसम्म जेल हालियो। चौतर्फी दबाबपछि उनीहरू जेठको दोस्रो साता नेपाल त फर्किए, तर हाल उनीहरूको बिचल्ली भएको सांसद कार्कीले बताइन्।

उनले वैदेशिक रोजगार विभागका कर्मचारीहरूको कार्यशैलीमाथि तीव्र आक्रोश पोखिन्। निरन्तर प्रयास र स्पष्ट प्रमाण पेस गर्दा पनि विभागका कर्मचारीहरू पीडितलाई न्याय दिनुको साटो उल्टै ठग म्यानपावर कम्पनीहरूलाई बचाउन लागिपरेको आरोप उनले लगाइन्। “नियमनकारी निकाय नै ठगहरूको संरक्षक बनेपछि गरिब जनताले न्याय कहाँ खोज्ने?” उनले प्रश्न गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *