विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै
तानसेन (पाल्पा)। पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेश पलायन हुन थालेपछि यहाँका कतिपय गाउँका बस्तीहरू पूर्ण रूपमा सुनसान बनेका छन्।
एक समय खेतबारीको चहलपहल, अर्मपर्म र मेलापातको रमाइलो आवाजले गुञ्जिने गाउँहरू अहिले वृद्धवृद्धाको सहारामा मात्र टिकेका छन्। गाउँमा रहेका अधिकांश बूढापाका आफ्ना छोराछोरी र नातिनातिनाको व्यग्र प्रतीक्षामा दिन बिताइरहेका छन्।
चाडपर्व वा विशेष अवसरमा मात्र परिवारका सदस्यहरू घर फर्कने भएकाले वर्षको अधिकांश समय यी वृद्धवृद्धाहरू एक्लोपनको पीडा खप्न बाध्य छन्।
तिनाउ गाउँपालिकाकी ७७ वर्षीया धनकला बगालेलाई हिजोआज दिन बिताउन निकै धौ-धौ पर्ने गरेको छ। बुढेसकालले छोएपछि पहिले जस्तो कडा शारीरिक काम गर्न सकिँदैन भने घरको सामान्य काम गरेर मात्रै लामो दिन कट्दैन।
दुःखसुखका कुरा गर्ने वरपरका छरछिमेकीका घरहरू दिनानुदिन सुनसान बन्दै गएका छन्। छिमेकीहरू धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि धनकलाले गाउँमै चरम एक्लोपन महसुस गरिरेकी छन्।
तानसेन अर्चलेका रामबहादुर बस्याललाई पनि हिजोआज पुरानो गाउँको सम्झनाले हुरुक्कै बनाउँछ। विगतमा ५०-६० घरधुरी रहेको उनको गाउँमा उर्वर भूमि थियो, जहाँ हरेक परिवारले आफूलाई पुग्ने खाद्यान्न, तरकारी र फलफूल आफ्नै बारीमा फलाउँथे।
बस्तुभाउ पाल्न र जीविकोपार्जन गर्न गाउँमा कुनै दुःख थिएन, तर समयको चक्र हेर्दाहेर्दै बद्लियो। एक दशकयता एकपछि अर्को गर्दै छिमेकीहरू बसाइँसराइ गरी तराई र सहरतिर झरेपछि रामबहादुर गाउँमा एक्लिए। उनले आफ्नो जवानीमा सँगैसँगै मेलापात र घाँसदाउरा गरेका दौतरीहरू अहिले गाउँ छोडेर गइसकेका छन्।
यो अवस्था कचल र अर्चलेको मात्र होइन, सिङ्गो पाल्पाका अधिकांश ग्रामीण क्षेत्रको नियति बनेको छ। सुविधा र अवसरको खोजीमा सहर वा तराईमा बसाइँसराइ गर्नेहरूको संख्या बढेपछि गाउँका घरहरू खाली भएका हुन्।
अचम्मको कुरा त के छ भने, गाउँमा तीव्र गतिमा विकासका पूर्वाधारहरू पुग्न थाले पनि बस्तीहरू भने रित्तिँदै गएका छन्। वैदेशिक रोजगारी र सहरमुखी प्रवृत्तिका कारण वर्षौंदेखि बन्द रहेका कतिपय घरहरू जीर्ण भइसकेका छन् भने घरका आँगनहरूमा झाडी र झारपात उम्रिएका छन्।
खेतीयोग्य जमिनसमेत बाँझो हुन थालेपछि गाउँको रैथाने उत्पादन र आर्थिक गतिविधिमा गम्भीर असर परेको छ। यसले गर्दा गाउँमा बाँकी रहेका वृद्धवृद्धालाई स्वास्थ्य सेवा, नियमित हेरचाह र आकस्मिक अवस्थामा आवश्यक सहयोग पाउन समेत निकै कठिनाइ भइरहेको छ।
अहिले हरेक गाउँमा सडक यातायात, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधा सहज बन्दै गएको छ, तर गाउँबाट सहर झर्ने क्रम भने रोकिएको छैन। ‘गाउँघरमै सिंहदरबार र नागरिकको दैलोमा स्थानीय सरकार’ को नारा घन्किरहे पनि पहाडी जिल्लाहरूमा स्थानीय सरकारका लागि यो बसाइँसराइको लहर रोक्नु सबैभन्दा ठूलो चुनौती बनेको छ।
केही स्थानीय तहले युवापुस्तालाई गाउँमै रोक्न प्रयास गरे पनि त्यो पर्याप्त देखिएको छैन। तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले युवाहरूको पलायन रोक्न र उनीहरूलाई गाउँमै टिकाउन नीति तथा कार्यक्रममा केही विशेष योजनाहरू ल्याइएको बताए। कृषि क्षेत्रको आधुनिकीकरण र विकासमार्फत युवा स्वरोजगारी बढाउन सकिनेमा उनी विश्वस्त छन्।
नगर प्रमुख श्रेष्ठले अब जसरी पनि बसाइँसराइ रोक्नुपर्ने बाध्यता रहेको स्वीकार गरे। मानिसहरूले अलिकति पैसा कमाउन थाल्नेबित्तिकै बजार सर्न खोज्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न ठोस कदमको आवश्यकता देखिन्छ।
रिब्दीकोटका स्थानीय गोविन्द पोखरेलका अनुसार स्थानीय सरकारले अब नागरिकलाई प्रत्यक्ष आयआर्जनसँग जोड्ने, ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने, साना तथा मझौला उद्योगधन्दा सञ्चालन गर्ने र स्थानीय स्रोतसाधनको पहिचान गरी उपयोग गर्नेतर्फ ध्यान दिनु आवश्यक छ। यदि रोजगार र आयआर्जनका यस्ता कार्यक्रम तत्काल नल्याउने हो भने आगामी केही वर्षभित्रै गाउँहरूमा वृद्धवृद्धाबाहेक कोही पनि बाँकी नरहने निश्चित छ। रासस






डिसी नेपाल





Facebook Comment