मेमोरी चिपको माग बढ्दा सामसुङको नाफामा ऐतिहासिक छलाङ, एकै त्रैमासमा १९ गुणाले नाफा वृद्धि
सियाेल। कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकाससँगै यसमा प्रयोग हुने मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नाफामा ऐतिहासिक उछाल आएको छ।
कम्पनीले सार्वजनिक गरेको चालु वर्षको दोस्रो त्रैमासिक (अप्रिल–जुन) को प्रारम्भिक वित्तीय विवरणअनुसार परिचालन नाफा ८९४ खर्ब वोन (करिब ५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १ हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणाले बढी हो। विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसुङको यस अवधिमा राजस्व पनि १२९ प्रतिशतले बढेर १ हजार ७१० खर्ब वोन पुगेको छ। कम्पनीले आफ्नो विस्तृत वित्तीय प्रतिवेदन भने यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ।
एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्याएको हो।
यही व्यावसायिक सफलताका कारण सामसुङले यसअघि कामदारसँग बोनससम्बन्धी सहमति गरेर सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो। सेजोङ विश्वविद्यालयका व्यवसाय प्रशासनका प्राध्यापक किम डे-जोङले यसलाई कम्पनीकै इतिहासको सबैभन्दा ठूलो त्रैमासिक परिचालन मुनाफा भएको बताएका छन्।
उनका अनुसार यो प्रदर्शन निरन्तर कायम राख्न सके विश्व बजारमा सामसुङको स्थान अझ बलियो हुनेछ। यद्यपि, एआई चिपको यो उच्च माग कति समयसम्म टिकिरहन्छ र आगामी वर्षपछि बजारको अवस्था कस्तो हुन्छ भन्ने विषय भने चुनौतीपूर्ण नै रहेको उनको विश्लेषण छ।
सामसुङले यो सकारात्मक वित्तीय अनुमान सार्वजनिक गरे पनि मंगलबार बिहानको सेयर बजारमा भने कम्पनीको सेयर मूल्य करिब सात प्रतिशतले घटेको थियो, जसलाई सियोलको कोस्पी सूचकांकमा आएको समग्र गिरावटको प्रभाव मानिएको छ।
दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार सामसुङको यो प्रारम्भिक नाफा विश्लेषकहरूको औसत प्रक्षेपणभन्दा ६.२ प्रतिशतले बढी हो। हाल सामसुङ र उसको घरेलु प्रतिस्पर्धी कम्पनी ‘एसके हाइनिक्स’ले दक्षिणपश्चिमी दक्षिण कोरियामा करिब आठ हजार खर्ब वोनको सार्वजनिक-निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन्।
यो विशाल परियोजना सम्पन्न भएपछि पनि बजारको अनिश्चितताका कारण हालको आम्दानीको स्तर कायम रहला कि नरहला भन्नेमा विश्लेषकहरू फरक मत राख्दछन्।
केही विश्लेषकहरूले एआई पूर्वाधारमा हुन सक्ने सम्भावित लगानी मन्दीलाई चिप बजारको जोखिमका रूपमा हेरेका छन्। तर, काउन्टरपोइन्ट रिसर्चका विश्लेषक एमएस ह्वाङले भने उत्पादकको आपूर्ति क्षमता र ग्राहकको मागबीच अझै ठूलो अन्तर रहेकाले बजार तत्कालै सुस्ताउने निष्कर्ष निकाल्न हतार हुने बताएका छन्।
अहिले उत्पादकहरूले एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनलाई प्राथमिकता दिँदा मोबाइल फोन, ल्यापटप जस्ता उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्, जसका कारण ती उपकरणको बजार मूल्यसमेत बढ्न थालेको छ।
यसैबीच, सेमिकन्डक्टर उद्योगको यो कमाइबाट दक्षिण कोरिया सरकारलाई प्राप्त हुने अतिरिक्त कर राजस्वलाई कसरी उपयोग गर्ने भन्नेबारे त्यहाँ सार्वजनिक बहस सुरु भएको छ।
राष्ट्रपतिका प्रमुख सचिव काङ् हुन-सिकले यो कर आम्दानीलाई एआई र सेमिकन्डक्टरकै ठूला परियोजनामा पुनः लगानी गरिने र त्यसबाट युवाहरूका लागि आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसरहरू सिर्जना गरिने बताएका छन्।
सेमिकन्डक्टर कम्पनीहरूको बढ्दो ख्याति र आम्दानीका कारण दक्षिण कोरियाको सामाजिक जीवनमा समेत यसको प्रभाव देखिएको छ। यस वर्ष सामाजिक सञ्जालमा ‘एसके हाइनिक्स’सँग सम्बन्धित ज्याकेट धन र सफलताको प्रतीकका रूपमा भाइरल भएको थियो भने वैवाहिक मिलान संस्था ‘सुनु’को सूचकांकमा सामसुङ र एसके हाइनिक्सका कर्मचारीहरूको सामाजिक आकर्षण डाक्टर र वकिलसरह पुगेको पाइएको छ।






डिसी नेपाल





Facebook Comment