प्रेमीसँग मिलेर नर्सद्वारा श्रीमान्‌को बीभत्स हत्या: छतबाट खसाउँदा जोगिएका श्रीमान्‌लाई सलाइनमा ट्वाइलेट क्लिनर मिसाएर मारियो

डिसी नेपाल
२३ असार २०८३ ११:२१

काठमाडौँ । भारतको तेलङ्गाना राज्यमा एक नर्सले आफ्नो प्रेमीसँग मिलेर ३५ वर्षीय श्रीमान्‌को बीभत्स तरिकाले हत्या गरेकी छन्। प्रहरीका अनुसार ती महिलाले गत ३० जुनमा श्रीमान्‌लाई घरको छतबाट धकेलेर मार्ने प्रयास गरेकी थिइन्।

तर, छतबाट खस्दा पनि श्रीमान् जीवितै रहेपछि अस्पतालमा उपचार भइरहेका बेला उनको नसामा जोडिएको सलाइन ड्रिपमा ट्वाइलेट क्लिनर (हार्पिक जस्तो रासायनिक पदार्थ) र एनेस्थेसिया इन्जेक्सनमार्फत मिसाएर हत्या गरिएको हो।

प्रहरीले यस क्रूर हत्याकाण्डमा संलग्न आरोपी ३२ वर्षीया श्रीमती सन्ध्या, उनका प्रेमी अनिल र प्रेमीका साथी वेङ्कट साईलाई पक्राउ गरेको छ। सन्ध्याको विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा मैरिटल अफेयर) का कारण यो हत्याको योजना पहिले नै रचिएको अनुसन्धान अधिकारीहरूको दाबी छ।

यो स्तब्धकारी घटना तेलङ्गानाको निजामाबाद जिल्लास्थित मोपाल मण्डलको न्यालाकल गाउँको हो, जसको विस्तृत विवरण सोमबार सार्वजनिक भएको हो। प्रहरी प्रतिवेदनका अनुसार मृतक प्रशान्त केही समयअघि मात्रै खाडी मुलुकबाट स्वदेश फर्किएका थिए। घर फर्किएपछि उनले श्रीमती सन्ध्याको परपुरुषसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरूबीच लगातार झगडा हुन थालेको थियो।

जुन ३० मा तीनै जना आरोपीहरूले प्रशान्तलाई पहिले अत्यधिक मदिरा सेवन गराएका थिए। त्यसपछि उनीहरूले प्रशान्तमाथि कुटपिट गर्दै घरको छतबाट तल धकेलिदिए। गम्भीर घाइते भए पनि प्रशान्तको ज्यान जोगिएपछि आरोपीहरूले नै उनी अत्यधिक नसामा भएका कारण आफैँ छतबाट खसेको भन्दै उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

अनुसन्धानका क्रममा सन्ध्याले यसअघि एउटा निजी अस्पतालमा नर्सको रूपमा काम गरिसकेको खुलेको छ। उनले आफ्नो त्यही मेडिकल ज्ञानको दुरुपयोग गर्दै अस्पतालको बेडमा छटपटाइरहेका श्रीमान्‌को सलाइन ड्रिपमा सुटुक्क ट्वाइलेट क्लिनर र बेहोस बनाउने औषधि (एनेस्थेसिया) इन्जेक्सनमार्फत हालिदिएको प्रहरीको आरोप छ। विषाक्त रसायन शरीरमा फैलिएपछि प्रशान्तको मृत्यु भएको थियो।

प्रशान्तको मृत्यु भएलगत्तै उनकी आमालाई घटनाको प्रकृति र बुहारीको व्यवहारप्रति गम्भीर शङ्का लाग्यो। उनले १ जुलाईमा प्रहरीमा लिखित उजुरी दर्ता गराइन्। उजुरीपछि प्रहरीले तीनै जना शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर केरकार सुरु गरेको थियो भने शवको पोस्टमार्टम रिपोर्ट आएपछि हत्याको वास्तविक रहस्य उजागर भयो।

प्रहरीको कडा सोधपुछका क्रममा सन्ध्याले आफ्नो अपराध स्वीकार गरेकी छन् भने अर्का आरोपी वेङ्कट साईले पनि पहिलोपटक छतबाट खसालेर मार्न खोजेको घटनामा आफ्नो संलग्नता रहेको कबुल गरेका छन्। प्रहरीले सन्ध्या, अनिल र वेङ्कट साईलाई पक्राउ गरी अदालतमा पेस गरेकोमा अदालतले उनीहरूलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *