बसन्त पराजुलीको चर्चित उपन्यास ‘बखान’ को दोस्रो संस्करण बजारमा
काठमाडौं । आख्यानकार तथा पत्रकार बसन्त पराजुलीको चर्चित ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण प्रकाशन भएको छ। पहिलो संस्करणप्रति पाठकको उल्लेखनीय रुचि र बढ्दो मागपछि शिखा प्रकाशनले दोस्रो संस्करण बजारमा ल्याएको हो।
दोस्रो संस्करणको स्रष्टा समाज चितवनका अध्यक्ष श्रीओम श्रेष्ठले एक कार्यक्रमबीच काठमाडौंमा विमोचन गरे। शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ पाठकहरूले सर्वाधिक मन पराएको कृतिमध्ये एक बनेको बताए।
उनका अनुसार उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति तथा २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक र साहित्यिक ढंगले प्रस्तुत गरिएकाले पाठकको विशेष रुचि प्राप्त गरेको हो।
नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसंघर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासमा चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा चित्रण गरिएको छ।
लेखक बसन्त पराजुलीले आफ्नो कृतिको दोस्रो संस्करण प्रकाशन हुनु आफ्ना लागि ठूलो उपलब्धि भएको बताए। उनले उपन्यासप्रति देखाएको माया, विश्वास र निरन्तर साथका लागि सम्पूर्ण पाठकप्रति हार्दिक धन्यवाद व्यक्त गरे।
पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् भने ‘बखान’ उनको ऐतिहासिक विषयवस्तुमा आधारित चर्चित उपन्यासका रूपमा स्थापित भएको छ।
२००७ सालको बन्दीपुर क्रान्ति, २०१८ सालको भरतपुर क्रान्तिको जगमा बसेर तयार भएको बखानमा चितवनको बढ्दो बस्ती विकास, जैविक विविधता संरक्षणमा केन्द्रित भएर लेखिएको उपन्यास हो । दोस्रो संस्करण प्रकाशनसँगै यो कृतिले अझ धेरै पाठकमाझ पुग्ने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment