निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

डिसी नेपाल
२३ असार २०८३ २२:३९

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिएका छन्।

भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भुसाल र डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यभार सम्हाल्नुअघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिएका हुन्।

“व्यावसायिक रुपमा मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी ‘मिसन १६ खर्ब’का लागि इमानदारीपूर्वक लाग्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “चुहावट रोक्न, स्वेच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउँछ।”

अर्थमन्त्री डा वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

भन्सार र कर आम्दानी बढाएर मुलुकको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामथ्र्यमा मुलुकले विकासको गति लिने अर्थमन्त्रीको भनाइ छ।

अर्थमन्त्री डा वाग्लेले मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि निर्मम बन्न र इमानदारीपूर्वक काम गर्नेलाई प्रोत्साहन गर्न आग्रह गरे।

यही असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *