अमेरिका–इरान तनाव उत्कर्षमा: होर्मुज आक्रमणको जवाफमा अमेरिकी एयरस्ट्राइक, विश्व तेल बजार प्रभावित
तेहरान/वासिङ्टन: होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप अमेरिकाले इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको दाबी गरेको छ। अमेरिकी सेनाका अनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दल बोकेका जहाजहरूलाई निसाना बनाइएपछि इरानलाई जवाफदेही बनाउन सैन्य कारबाही सुरु गरिएको हो।
अमेरिकी केन्द्रीय कमाण्ड (यूएस सेन्टकम) ले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा इरानका ८० भन्दा बढी लक्ष्यमा सटिक हतियार प्रयोग गरी आक्रमण गरिएको जनाएको छ। आक्रमणका क्रममा हवाई रक्षा प्रणाली, कमान्ड एन्ड कन्ट्रोल नेटवर्क, तटीय राडार, एन्टी–सिप क्षेप्यास्त्र प्रणाली तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना डुङ्गाहरूलाई निशाना बनाइएको अमेरिकी दाबी छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानका केश्म टापु, बन्दर अब्बास, खार्ग टापु र सिरिक बन्दरगाह क्षेत्रमा ठूलो विस्फोट भएको छ। कैयौँ व्यक्ति घाइते भएको खबर आए पनि हालसम्म कुनै मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन।
अमेरिकाका अनुसार मङ्गलबार इरानले मार्सल आइल्यान्डको झन्डा बोकेको एम/टी अल रकैयात, साउदी अरेबियाको एम/टी वेड्यान र लाइबेरियाको एम/टी साइप्रस प्रोस्पेरिटी माथि आक्रमण गरेको थियो। यद्यपि इरानले यसबारे हालसम्म पुष्टि वा खण्डन गरेको छैन।
इरानको खताम-अल-अन्बिया केन्द्रीय सैन्य मुख्यालयले अमेरिकी आक्रमणलाई “खुला अतिक्रमण” भन्दै कडा निन्दा गरेको छ। इरानी सेनाले अमेरिकालाई “विनाशकारी जवाफ” दिने चेतावनी दिँदै होर्मुज स्ट्रेटमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।
इरानका संसदका सभामुख तथा शीर्ष वार्ताकार मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै भने, “धम्की र जबर्जस्तीको युग समाप्त भइसकेको छ। यसले कतै पुर्याउँदैन, हामी झुक्ने छैनौँ।”
इरानको सरकारी टेलिभिजन (आईआरआईबी) ले अमेरिकी आक्रमणले मुख्यतः नागरिक क्षेत्रलाई निसाना बनाएको दाबी गरेको छ। सिरिक व्यावसायिक घाटमा खसेको छर्रा लागेर कैयौँ सर्वसाधारण घाइते भएको जनाइएको छ।
तेल प्रतिबन्ध पुनः लागू, बजारमा प्रभाव
बढ्दो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट फिर्ता लिएको घोषणा गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार नयाँ प्रतिबन्धहरू जुलाई १७ देखि पूर्ण रूपमा लागू हुनेछन्।
यस घटनापछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तत्काल प्रभाव परेको छ। अमेरिकी कच्चा तेल (क्रुड फ्युचर्स) को मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० अमेरिकी डलर पुगेको छ। लगानीकर्ताहरूले क्षेत्रीय द्वन्द्वले विश्व अर्थतन्त्र र मुद्रास्फीतिमा पार्ने प्रभावबारे चिन्ता व्यक्त गर्न थालेका छन्।
इरानका उप–विदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी कदमलाई तेहरान र वासिङ्टनबीच भएको इस्लामाबाद सम्झौताको धारा १, २ र १० को ठाडो उल्लङ्घन भएको आरोप लगाएका छन्। उनले राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न इरानले आवश्यक र निर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।
बहराइनमा सतर्कता
अमेरिकी आक्रमणको खबर सार्वजनिक भएपछि छिमेकी बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको थियो। त्यहाँको गृह मन्त्रालयले नागरिकहरूलाई शान्त रहन, सरकारी निर्देशन पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
कतारको प्रतिक्रिया
कतारले होर्मुज क्षेत्रमा आफ्नो जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै त्यसका लागि इरानलाई अन्तर्राष्ट्रिय कानुनअनुसार जिम्मेवार ठहराएको छ। कतारले उक्त घटनालाई अन्तर्राष्ट्रिय समुद्री सुरक्षामाथिको गम्भीर चुनौतीको संज्ञा दिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले धम्की र सैन्य दबाबको वातावरणमा अमेरिकासँग कुनै नयाँ सम्झौता सम्भव नरहेको स्पष्ट पारेका छन्। उनले अमेरिका पहिले आफ्ना पुराना प्रतिबद्धता र सम्झौताहरूको सम्मान गर्न तयार हुनुपर्ने अडान दोहोर्याएका छन्।
खामेनीको अन्त्येष्टिबीच बढ्यो तनाव
यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा लगातार दोस्रो दिन पनि लाखौँ मानिस सहभागी भएका छन्। तेहरानपछि कोममा आयोजित अन्तिम यात्रामा सहभागीहरूले ताबुतमाथि “बदला” को प्रतीक रातो कपडा चढाएका थिए। खामेनीको पार्थिव शरीर विशेष विमानमार्फत इराकको नजफ लगिएको छ भने अन्त्येष्टि जुलाई ९ मा इरानको मशहदमा हुने जनाइएको छ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियन अन्त्येष्टिमा सहभागी हुन नजफ पुगेका थिए। अमेरिकी हवाई हमलाको खबर सार्वजनिक भएपछि उनी तत्काल तेहरान फर्किएका छन्।
विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीच भएको पछिल्लो समझदारी केवल अस्थायी युद्धविरामजस्तै बनेको छ। स्थायी राजनीतिक समाधान ननिस्किएसम्म यस्ता सैन्य झडपहरूले सम्पूर्ण मध्यपूर्वलाई पुनः ठूलो क्षेत्रीय युद्धतर्फ धकेल्ने जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ।






डिसी नेपाल





Facebook Comment