प्रविधिको चपेटामा नैतिक शिक्षा
आजको २१औँ शताब्दी प्रविधिको युग हो, जहाँ विश्वले सूचना र प्रविधिका क्षेत्रमा अभूतपूर्व छलाङ मारिरहेको छ। स्मार्टफोन, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता (AI) र इन्टरनेटका विविध सेवाहरू हाम्रो दैनिक जीवनका अभिन्न अंग बनिसकेका छन्।
तीव्र गतिमा फैलिएको यो डिजिटल क्रान्तिले मानव जीवनको हरेक क्षेत्रलाई रूपान्तरण गरिदिएको छ। तर, यसै गतिको बीचमा एउटा गम्भीर प्रश्न उब्जिएको छ: के प्रविधिले हाम्रो नैतिक शिक्षालाई निल्दै छ ? के हामी मानवीय संवेदना, सहानुभूति र कर्तव्यबोध जस्ता समाजका आधारस्तम्भहरू गुमाउँदै छौँ ?
हामीबिचको नैतिक आचरणको डोरी बिस्तारै खुकुलो हुँदै गएको र सम्बन्धका मसिना पाटाहरू चुँडिँदै गएको आभास हुन थालेको छ। जुनसुकै सजीव प्राणीलाई पनि जीवन निर्वाह गर्न नैतिकताको बलियो आधार चाहिन्छ, अन्यथा मानवीय जीवन अर्थहीन बन्न पुग्छ।
यो पृथ्वीले सिर्जना गरेको सबैभन्दा सुन्दर उपहार मानव नै हो र ऊ सम्पूर्ण सजीव जगत्को अभिभावक पनि हो। त्यसैले आज प्रत्येक मानवमाथि एउटा ठुलो नैतिक प्रश्न खडा भएको छ। नैतिक शिक्षा केवल विद्यालयको पाठ्यपुस्तकमा सीमित हुने विषय होइन, यो त सही र गलतबिचको भेद छुट्याउने, अरूप्रति सम्मान प्रकट गर्ने, सामाजिक उत्तरदायित्व वहन गर्ने र आत्मसंयम अपनाउने व्यावहारिक ज्ञान हो।
परम्परागत रूपमा हाम्रो नैतिक शिक्षा सामाजिक रीतितिवाज, धार्मिक ग्रन्थ तथा ऋषिमुनि एवं गुरु-शिष्यको पवित्र सम्बन्धबाट निःसृत हुने गर्थ्यो। तर, आज प्रविधिले दिएको डिजिटल शिक्षा ‘पानीविनाको गाग्री’ जस्तै खल्लो र अमिलो बन्न थालेको छ।
बालबालिका, वयस्कदेखि वृद्धवृद्धासम्म सबैको ध्यान आज ‘स्क्रिन’ भित्र कैद छ । यसले मानिसको मौलिक विचार मार्दै लगेको छ भने नैतिक आचरण, सामाजिक मूल्य-मान्यता र सांस्कृतिक पहिचानलाई समेत संकटमा पारेको छ।
हामीले यो कुरा कहिले बुझ्ने? डिजिटल प्रविधिले हाम्रो नैतिक कम्पासलाई कसरी विस्थापित गरिरहेको छ, यसका दूरगामी परिणामहरू के-के हुन सक्छन् र यस संकटबाट उम्कने सम्भावित बाटाहरू के हुन् भनेर गम्भीर विश्लेषण गर्नुपर्ने बेला भइसकेको छ ।
विगतमा नैतिक शिक्षाको जग परिवार, धर्म-संस्कार र समुदाय थिए । मन्दिर, मस्जिद, चर्च, व्रतबन्ध तथा पूजापाठजस्ता धार्मिक एवं सांस्कृतिक अभ्यासहरूले ईश्वरप्रतिको आस्था, जिम्मेवारी र अनुशासनमार्फत व्यक्तिको नैतिक सीमा निर्माण गर्थे।
त्यसैगरी, छिमेकीसँगको सहकार्य र खेतबारीको श्रमले मानिसमा सद्भाव, सम्मान र सामूहिक उत्तरदायित्वको भावना विकास गर्थ्यो । तर, प्रविधिको तीव्र विस्तारसँगै यी आधारहरू क्रमशः भत्किँदै गएका छन् ।
अहिले परिवारका सदस्यहरू एउटै घरमा, एउटै कोठामा बसे पनि मानसिक रूपमा आ-आफ्नै स्क्रिनमा सीमित छन्। धार्मिक ग्रन्थ वा अनुभवी अग्रजहरूबाट मार्गदर्शन लिनुभन्दा पहिले मानिसहरूले गुगल वा डिजिटल माध्यममा उत्तर खोज्ने प्रवृत्ति बढेको छ।
समुदाय प्रत्यक्ष मानवीय सम्बन्धबाट टाढिएर ‘अनलाइन समूह’ मा खुम्चिएको छ, जहाँ मानिसको मूल्यांकनको आधार केवल ‘लाइक’ र ‘रियाक्ट’ बन्न पुगेको छ । यो हाम्रो सामाजिक अपरिपक्वताको पराकाष्ठा हो । परिणामस्वरूप, प्रत्यक्ष अनुभव, मानवीय सामीप्यता र सामाजिक उत्तरदायित्वमा आधारित नैतिक शिक्षाको जरा नै कमजोर भइरहेको छ ।
प्रविधि स्वयंमा तटस्थ भए पनि यसको प्रयोगको शैली र तीव्र गतिले व्यक्तिको नैतिक निर्णय क्षमता एवं सामाजिक व्यवहारमा गहिरो प्रभाव पारिरहेको छ । तत्काल सन्तुष्टि (Instant Gratification) खोज्ने बानीका कारण मानिसमा धैर्यता र आत्मसंयम जस्ता नैतिक गुणहरू ह्रास हुँदै गएका छन् । नैतिक शिक्षाको मूल उद्देश्य मानव मनको आवेगमाथि नियन्त्रण स्थापित गर्नु हो, तर प्रविधिले तत्काल प्रतिक्रिया जनाउने र आवेगपूर्ण व्यवहार गर्ने शैलीलाई प्रोत्साहन गरिरहेको छ ।
डिजिटल माध्यममा हुने अमूर्त अन्तरक्रियाले मानिसको शारीरिक भाषा (Body Language) र आवाजको उतारचढावबाट विकसित हुने सहानुभूति (Empathy) लाई सङ्कुचित बनाइदिएको छ। यसैका कारण साइबर बुलिङ र असभ्य संवादहरू अचेल सामान्य बन्दै गएका छन्।
अर्कोतर्फ, एल्गोरिदमद्वारा सिर्जित ‘फिल्टर बबल’ र ‘कन्फर्मेसन बायस’ (Confirmation Bias) ले व्यक्तिलाई आफ्नै विचारसँग मेल खाने सामग्री मात्र देखाउने गर्छ। यसले गर्दा समाजमा सहिष्णुता, आलोचनात्मक चिन्तन र फरक दृष्टिकोणलाई सम्मान गर्ने संस्कृति घट्दै गएको छ, जसले सामाजिक ध्रुवीकरण र नैतिक विचलनलाई थप बढावा दिएको छ। नतिजास्वरूप सम्मान, कृतज्ञता, क्षमायाचना र संवेदनशील संवादजस्ता आधारभूत मानवीय मूल्यहरू हराउँदै जान थालेका छन्।
हाम्रो आत्मिक चेतनाले भन्छ- पहिले ज्येष्ठ नागरिक तथा गुरुजनप्रति सम्मानजनक सम्बोधन र व्यवहार गर्नु नैतिक कर्तव्य मानिन्थ्यो। तर आज सामाजिक सञ्जालमा उमेर, अनुभव वा सामाजिक मर्यादाको ख्याल नगर्ने प्रवृत्ति बढ्दो छ, जसले ‘श्रद्धा’ लाई ‘रीच’ र ‘इङ्गेजमेन्ट’ सँग साटिदिएको भान हुन्छ।
यसले व्यक्तिलाई आफ्ना व्यवहारप्रति कम उत्तरदायी बनाउने जोखिम बढाएको छ । साथै, नियमित दिनचर्या, अनुशासन र परिश्रमप्रतिको नैतिक दृष्टिकोण पनि प्रविधिको सुविधामुखी प्रयोगसँगै बद्लिएको छ। प्रविधिले कार्यसम्पादनलाई सहज बनाए पनि समयको अनुशासन, श्रमको संस्कार र सन्तुलित जीवनशैलीलाई चुनौती दिएको छ।
त्यति मात्र होइन, नैतिक आत्ममूल्यांकन र आत्मावलोकनका लागि आवश्यक पर्ने मौनता र एकान्तलाई डिजिटल सामग्रीको निरन्तर उपस्थितिले सङ्कुचित पारिदिएको छ। खाली समय पाउनेबित्तिकै मानिसहरू सामाजिक सञ्जाल, भिडियो वा ‘रील्स’ मा भुल्ने गर्छन्, जसका कारण आफ्ना विचार, निर्णय र व्यवहारबारे गहिरो आत्मचिन्तन गर्ने अवसर गुम्दै गएको छ।
फलस्वरूप, सम्मान, आत्मसंयम, अनुशासन र सामाजिक उत्तरदायित्वजस्ता नैतिक मूल्यहरू प्रविधिको असन्तुलित प्रयोगका कारण कमजोर बन्दै छन्, जसले समग्र समाजको नैतिक संरचनामै दीर्घकालीन चुनौती उत्पन्न गरिरहेको छ।
‘जेन जी’ (Gen Z) र ‘जेन अल्फा’ (Gen Alpha) प्रविधिसँगै जन्मेर हुर्किएको पुस्ता भएकाले उनीहरूको नैतिक शिक्षा प्राप्त गर्ने माध्यम र सामाजिक दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ।
परम्परागत रूपमा परिवार, विद्यालय र समुदायले निर्वाह गर्ने नैतिक मार्गदर्शनको भूमिकालाई आज सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ र ‘कन्टेन्ट क्रिएटर’ हरूले प्रतिस्थापन गरेका छन्। फलस्वरूप, लोकप्रियता, फलोअर्स र भौतिक सफलतालाई नै सफलताको मापदण्ड मान्ने प्रवृत्ति बढेको छ, जसले चरित्रभन्दा बाह्य उपलब्धिलाई बढी महत्त्व दिन्छ।
त्यसैगरी, सामाजिक सञ्जालमा विकास भएको ‘क्यान्सल कल्चर’ (Cancel Culture) ले गल्ती गर्ने व्यक्तिलाई सच्याउने अवसर दिनुको सट्टा तत्काल सार्वजनिक बहिष्कार गर्ने हुँदा क्षमा र आत्मसुधारजस्ता नैतिक मूल्यहरू ओझेलमा परेका छन्। अनलाइनमा सम्बन्धहरू छिटो सुरु हुने र छिट्टै टुट्ने प्रवृत्तिका कारण दीर्घकालीन प्रतिबद्धता, विश्वास र निष्ठामाथि प्रश्न उठ्न थालेको छ।
नेपालदेखि विश्वजगतसम्म अहिले डिजिटल क्रान्ति एउटा यस्तो मोडमा आइपुगेको छ, जहाँ अबको पुस्ताले मानिसभन्दा बढी मेसिन मात्र देख्ने खतरा छ । कतिपयको त अनुमान यो पनि छ कि सन् २०५० सम्म पुग्दा मानिसको उत्पादन र विकाससमेत मेसिन र प्रविधिले नै गरेको दाबी गरिनेछ।
यद्यपि, प्रविधिले एकतर्फ अवसर र स्वतन्त्रता प्रदान गरेको छ भने अर्कोतर्फ यसको असन्तुलित प्रयोगले नैतिक अनिश्चितता (Moral Anomie) र मूल्यगत द्विविधा सिर्जना गरेको छ। प्रविधिले नैतिकतालाई पूर्ण रूपमा नष्ट नै गरेको हो भन्ने निष्कर्ष त उचित नहोला, किनकि प्रविधि स्वयं नैतिक वा अनैतिक हुँदैन, बरु यसको प्रयोगको उद्देश्य र संरचनाले त्यसको प्रभाव निर्धारण गर्छ।
डिजिटल प्लेटफर्मका एल्गोरिदम र प्रयोगकर्ता अनुभव (UI/UX) प्रणालीहरू प्रयोगकर्ताको ध्यान लामो समयसम्म टिकाइराख्ने व्यावसायिक स्वार्थले निर्माण गरिएका हुन्छन्।
मानिसले छोटो समयमा ठूलो आनन्द खोज्ने क्रममा क्रोध, डर, ईर्ष्या र सनसनीपूर्ण सूचनाले इन्टरनेटमा बढी प्राथमिकता पाउँछन्। त्यसैले प्रविधि आफैँले नैतिक शिक्षालाई प्रतिस्थापन गरेको होइन, बरु यसको असन्तुलित र नाफामुखी प्रयोगले हाम्रा नैतिक मूल्य र सामाजिक उत्तरदायित्वमा गम्भीर चुनौती थपिदिएको हो।
अब प्रविधिलाई नैतिकताको प्रतिस्पर्धी होइन, बरु नैतिक मूल्यहरूको प्रवर्द्धन गर्ने साधनका रूपमा विकास गर्नु आजको प्रमुख आवश्यकता हो। त्यसका लागि विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा डिजिटल साक्षरतासँगै ‘डिजिटल नैतिकता’ लाई अनिवार्य रूपमा समावेश गरिनुपर्छ।
अनलाइन शिष्टाचार, गोपनीयताको सम्मान, कृत्रिम बुद्धिमत्ता (AI) को जिम्मेवार प्रयोग र डिजिटल उत्तरदायित्वसम्बन्धी व्यावहारिक शिक्षा आजको पुस्तालाई दिनु आवश्यक छ। परिवारले पनि दैनिक केही समय ‘स्क्रिन-मुक्त वातावरण सिर्जना गरी प्रत्यक्ष संवाद र पारिवारिक अन्तरक्रियालाई प्राथमिकता दिनुपर्छ, जसले नैतिक मूल्यहरूको जगलाई बलियो बनाउँछ।
नैतिक शिक्षाको प्रभावकारी माध्यम औपचारिक पाठ्यक्रम मात्र नभई अभिभावक, शिक्षक तथा समाजका अग्रजहरूको व्यवहार पनि हो । त्यसैले उनीहरू आफैँले जिम्मेवार डिजिटल प्रयोगकर्ताको उदाहरण प्रस्तुत गर्नु पर्दछ।
अन्ततः, प्रविधिले नैतिक शिक्षालाई पूर्ण रूपमा विस्थापित गरेको होइन; बरु हाम्रो असावधानी, कमजोर नैतिक अभ्यास र अनियन्त्रित प्रयोगका कारण मानवीय मूल्यहरू संकटमा परेका हुन्।
त्यसैले समाधान प्रविधिको विकासलाई रोक्नुमा होइन, यसको प्रयोगलाई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र नैतिक चेतनासँग सन्तुलित रूपमा जोड्नुमा छ । प्रविधि परिवर्तनको शक्तिशाली माध्यम हो, तर त्यसको सही दिशा निर्धारण गर्ने जिम्मेवारी र साँचो मानिसकै हातमा रहन्छ। शिक्षा ज्ञानको आधार हो भने नैतिक शिक्षा असल चरित्र र जिम्मेवार व्यवहारको कडी हो। यो सन्तुलन मिलाउन सके मात्र हामी एउटा सभ्य, समृद्ध र जिम्मेवार नागरिक समाजको निर्माण गर्न सक्छौं।












Facebook Comment