सिरहामा १२ हजार घुससहित सब डिभिजन वन कार्यालयका प्रमुख रंगेहात पक्राउ

डिसी नेपाल
२४ असार २०८३ १०:३१

सिरहा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

वन अधिकृत यादवले कर्जन्हा नगरपालिका-२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने बहानामा प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस माग गरेका थिए।

सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण सङ्कलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो। सोही क्रममा कर्जन्हा नगरपालिका-४ बाट वन अधिकृत यादवलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउसँगै घटनास्थलमा मुचुल्का तयार गर्ने, प्रमाण सङ्कलन गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रवक्ता प्रकाश पोखरेलका अनुसार पक्राउ परेका वन अधिकृतलाई नियन्त्रणमा लिएर घटनास्थलमै आवश्यक कानुनी प्रक्रिया पूरा भइरहेको छ।

यो प्रक्रिया सम्पन्न भएपछि थप अनुसन्धानका लागि उनलाई बर्दिबासस्थित कार्यालयमा लैजाने तयारी गरिएको छ। यस घटनापछि वन कार्यालयसँग सम्बन्धित सेवामा हुने गरेको अनियमितता र घुसखोरी नियन्त्रणका विषयमा स्थानीय स्तरमा पुनः बहस सुरु भएको छ।

अख्तियारले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *