अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्री वालेन्द्र शाह र निजी क्षेत्रबीच आज उच्चस्तरीय संवाद हुँदै

डिसी नेपाल
२४ असार २०८३ ११:०१

काठमाडौं। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री वालेन्द्र शाहले आज उद्योगी तथा व्यवसायीहरूसँग विशेष संवाद गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे आयोजना हुने उक्त उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार तथा निजी क्षेत्रबीचको आगामी सहकार्यका विषयमा सघन छलफल हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वसँग औपचारिक रूपमा पहिलोपटक यसरी संवाद गर्न लागेका हुन्।

उक्त महत्त्वपूर्ण बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र महासंघकै उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ सहभागी हुँदै छन्। त्यस्तै, नेपाल उद्योग परिसंघ (सिएनआई) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझाका साथै नेपाल चेम्बर अफ कमर्स (एनसिसी) का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले समेत बैठकमा सहभागी भई निजी क्षेत्रका समस्या र सुझावहरू सरकारसमक्ष राख्ने कार्यक्रम तय भएको छ।

यो संवादले लामो समयदेखि सुस्ताएको बजारलाई गति दिन र सरकार एवं व्यवसायीबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *