‘लोक दोहोरी स्टार सिजन-२’ को देशव्यापी अडिसन असार २७ गतेदेखि सुरु हुँदै
काठमाडौं। नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक-गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ बहुप्रतीक्षित रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन-२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ।
एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको यस शोले देशका विभिन्न जिल्लामा ओझेलमा रहेका मौलिक लोक प्रतिभाहरूलाई राष्ट्रिय स्तरको अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ।
यसपटकको दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको हो। नेपाली लोक जगत्का स्थापित हस्तीहरू सम्मिलित यस शोको मुख्य निर्णायक मण्डलमा प्रसिद्ध गायिका कोमल वली तथा चर्चित गायकद्वय राजु परियार र चन्द्र शर्मा रहेका छन्।
पहिलो संस्करणको अपार सफलतापछि आयोजकले दोस्रो संस्करणको अडिसन तालिका सार्वजनिक गर्दै तीव्र तयारी गरिरहेको छ। घोषित तालिका अनुसार अडिसन कार्यक्रमको भव्य सुरुवात आगामी असार २७ गते कोशी प्रदेशको इटहरीबाट हुनेछ।
त्यसलगत्तै असार २९ गते चितवन, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, साउन ४ गते पर्यटकीय सहर पोखरा तथा साउन ८ र ९ गते संघीय राजधानी काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ।
विभिन्न सहरका प्रतिष्ठित स्थानहरूलाई अडिसन स्थलका रूपमा चयन गरिएको छ, जसअन्तर्गत इटहरीको क्लब के, चितवनको चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टमा प्रतिभाहरूको खोजी गरिनेछ।
यस साङ्गीतिक महासंग्राममा सहभागी हुनका लागि कम्तीमा १६ वर्ष उमेर पुगेका महिला तथा पुरुष दुवै नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
आयोजकले मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित नेपाली लोक सङ्गीतप्रति विशेष रुचि र समर्पण भएका प्रतिभाहरूलाई प्राथमिकता दिने जनाएको छ।
विशेष गरी परम्परागत लोक भाका तथा मौलिक शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न-उत्तर शैलीमा तत्कालै घतलाग्दो दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने अब्बल प्रतिस्पर्धीहरूलाई मुख्य मञ्चमा स्थान दिइनेछ। देशैभरिका लोक प्रतिभाहरूलाई समेटेर तयार पारिने यो उत्कृष्ट साङ्गीतिक रियालिटी शो एपीवान एचडी (AP1 HD) टेलिभिजनबाट भव्य रूपमा प्रसारण हुनेछ।






डिसी नेपाल





Facebook Comment