एमालेको आन्तरिक सर्वेक्षण: ९१ प्रतिशत कार्यकर्ताद्वारा संगठनात्मक पुनर्संरचनाको माग

डिसी नेपाल
२५ असार २०८३ १५:४०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक जीवनमा व्यापक रूपान्तरण र पुनर्संरचनाको माग तीव्र बनेको छ। ‘नेकपा एमाले रूपान्तरण र पुनर्संरचनाको लागि पुनर्जागरण अभियान २०८२’ का क्रममा सार्वजनिक गरिएको एक मतसर्वेक्षणले पार्टीभित्रको वर्तमान नेतृत्व, कार्यशैली र नीतिप्रति कार्यकर्तामा गहिरो असन्तुष्टि रहेको देखाएको छ।

सर्वेक्षणका अनुसार पार्टीका अधिकांश कार्यकर्ता वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट छन्। ९४.९ प्रतिशत सहभागीले नेतृत्वको कार्यशैली सुध्रिनुपर्ने धारणा राखेका छन्। त्यस्तै, ८७.६ प्रतिशत सहभागीले पार्टीको विद्यमान नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् भने ८७.५ प्रतिशतले पार्टीको नीति परिमार्जन हुनुपर्ने बताएका छन्।

पार्टीको संगठनात्मक संरचनाबारे गरिएको प्रश्नमा ९१.४ प्रतिशत सहभागीले पुनःसंरचना आवश्यक रहेको बताएका छन्। यसका साथै, नेतृत्व चयन प्रक्रियामा आमूल परिवर्तनको माग गर्दै ८२.९ प्रतिशत सहभागीले सबै संगठित सदस्यहरूले मतदान गर्न पाउनुपर्ने व्यवस्थाको पक्षमा अभिमत दिएका छन्।

पार्टीलाई गतिशील बनाउन क्षमतावान र नवयुवाहरूलाई सबै तहका कमिटीमा प्रवेश गराउनुपर्ने विषयमा ९१.१ प्रतिशत सहभागीले सहमति जनाएका छन्। नेतृत्व हस्तान्तरणको विषयमा भने ५०.२ प्रतिशत सहभागीले केन्द्रीय कमिटीभित्रबाटै नेतृत्व चयन हुनुपर्ने धारणा राखेका छन् भने १६.७ प्रतिशतले पदाधिकारीभित्रबाटै हुनुपर्ने र केहीले कमिटी बाहिरको नेतृत्वको विकल्पसमेत सोचेका छन्।

एमालेको वर्तमान अवस्थाबारे गरिएको प्रश्नमा ९१.४ प्रतिशत सहभागीले पार्टीको रूपान्तरण अनिवार्य रहेको औंल्याएका छन्। हालको अवस्थामा पार्टी अगाडि बढ्न सक्नेमा निकै कम (७.४ प्रतिशत) ले मात्र विश्वास व्यक्त गरेका छन्।

सर्वेक्षणमा सहभागीहरूमध्ये ७२.२ प्रतिशत नेकपा (एमाले) का संगठित सदस्यहरू रहेका छन् भने बाँकी समर्थक, शुभेच्छुक र स्वतन्त्र नागरिकहरू रहेका छन्। यसले पार्टीको आन्तरिक पंक्तिमा रूपान्तरण र पुनर्जागरणको लहर कति बलियो छ भन्ने कुरा प्रष्ट पारेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *