दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण

डिसी नेपाल
२५ असार २०८३ १५:४९

चितवन। चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण भइरहेको छ।

नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता भण्डारीको निधन भएको स्थललाई संरक्षण गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माणको काम अघि बढाइएको हो। पार्क निर्माणसँगै दासढुंगा क्षेत्रलाई पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो। उक्त दुर्घटनामा दुवै नेताको निधन भएको थियो।

नेपालको राजनीतिक इतिहासमा चर्चित दासढुंगा घटनाले लामो समयसम्म विभिन्न बहस र अनुसन्धानको विषय बन्दै आएको छ। यही ऐतिहासिक घटनास्थललाई संरक्षण गर्दै भावी पुस्तालाई त्यस समयको राजनीतिक इतिहासबारे जानकारी गराउने उद्देश्यले स्मृति पार्क निर्माण सुरु गरिएको हो।

पार्क निर्माणमा सक्रिय मधु गुरुङका अनुसार दासढुंगा क्षेत्रलाई व्यवस्थित स्मृति तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।

उनका अनुसार यसअघि दासढुंगा आउने पर्यटकका लागि आवश्यक सुविधा अभाव थियो। त्यसलाई सुधार गर्दै पर्यटकमैत्री संरचना निर्माण भइरहेको छ।

यस्तै मदन भण्डारी फाउण्डेसन पार्क निर्माण समितिका अध्यक्ष नारायण कुमार मगरका अनुसार पार्क निर्माणको मुख्य काम करिब साढे दुई महिनाको अवधिमा सम्पन्न भएको हो।

निर्माण सम्पन्न भएपनि केही भुक्तानी प्रक्रिया तथा सामान्य रेखदेखका काम भने बाँकी रहेको उनले जानकारी दिए। त्यस्तै पार्कमा ४१ लाख रुपैंयाँको लागतमा बनेको हो, बजेट प्रदेशबाट विनियोजन भएको अध्यक्षले बताए।

अध्यक्ष मगरका अनुसार पार्कमा एउटा पुल, दुईवटा गोलघर, कम्पाउण्ड, पानी ट्याङ्की, शौचालय, फुल राख्ने स्थान तथा कार्यालय भवन निर्माण गरिएको छ। कार्यालय भवनको केही काम अझै बाँकी रहेपनि पार्कका मुख्य संरचना भने तयार भइसकेका छन्।

पार्कमा आउने जाने नागरिकको सहजताका लागि नारायणी किनारसम्म पुग्ने सिँढी निर्माण गरिएको छ भने मदन भण्डारी र जीवराज आश्रितको सालिकसहित विभिन्न स्मृति संरचना निर्माण गरिएको अध्यक्ष मगरले बताए।

यसअघि सामान्य अवस्थामा रहेको क्षेत्रलाई अहिले व्यवस्थित र आकर्षक बनाइएको उनके भनाई छ।

‘पहिले यहाँ त्यस्तो व्यवस्थापन थिएन, अहिले नयाँ संरचनाहरू निर्माण गरेर व्यवस्थित बनाइएको छ,’ अध्यक्ष मगरले भने।

उनका अनुसार पार्क क्षेत्रमा दुबो तथा हरियाली व्यवस्थापन, सौन्दर्यीकरण र आवश्यक पूर्वाधार थप गरेर क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने काम गरिएको छ।

दासढुंगा क्षेत्रलाई राजनीतिक इतिहास, अध्ययन र आन्तरिक पर्यटनसँग जोड्ने उद्देश्यसहित निर्माण गरिएको यस पार्कले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै चितवनको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले पनि दासढुंगा दुर्घटनास्थल मात्र नभई नेपालको राजनीतिक इतिहास बोकेको महत्वपूर्ण क्षेत्र भएकाले पार्क निर्माणले यसको पहिचान अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

मदन भण्डारी नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादका प्रतिपादकका रूपमा परिचित नेता हुन्।

उनको विचार, नेतृत्व र योगदानको स्मरण गर्दै निर्माण गरिएको मदन भण्डारी फाउण्डेसन पार्क भविष्यमा राजनीतिक अध्ययन, ऐतिहासिक अवलोकन र पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्ने सरोकारवालाहरूले विश्वास गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *