मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै ओलीद्वारा निवेदन दर्ता

डिसी नेपाल
२५ असार २०८३ १७:२४

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै औपचारिक निवेदन दर्ता गराएका छन्।

एमालेका तर्फबाट पार्टीका केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार पुल्चोकस्थित आयोगको कार्यालय पुगेर अध्यक्ष तपबहादुर मगरलाई उक्त निवेदन बुझाएका हुन्।

निवेदनमा २०८२ साल भदौ २३ र २४ गतेका घटनाका सम्बन्धमा आयोगको निर्णय नं. १७७ अन्तर्गत गरिएको सिफारिस संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारका स्थापित मान्यताविपरीत रहेको दाबी गरिएको छ। सो सिफारिस पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको जिकिर गर्दै एमालेले त्यसलाई पुनर्विचार वा सच्याउन माग गरेको छ।

यसका साथै, आयोगले यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनहरूको प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाएका छन्। निवेदनमा घटना छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आग्रह गरिएको छ।

आयोगसमक्ष पेश गरिएको निवेदनमा भनिएको छ, “समितिको प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन हटाएको वा थप गरेको हो, त्यसको आधार र कारणसहितका सम्पूर्ण कागजातहरू उपलब्ध गराइयोस्।”

यदि यस घटनाका सम्बन्धमा आयोगले थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए सोसँग सम्बन्धित प्रतिवेदन तथा अन्य सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमार्फत माग गरिएको केन्द्रीय सदस्य बर्तौलाले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *