नेपालमा चियाको इतिहास
भाग २
नेपालमा चिया खेतीको कुरा गर्दा वि.सं. १९०३ (सन् १८६३) ताका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका ज्वाइँ कर्णेल गजराज सिंह थापा पूर्वी नेपालको सुरक्षा अधिकारीका रूपमा इलाममा खटिएका थिए।त्यस बेला उनले दार्जिलिङको भ्रमण गरेका थिए।
दार्जिलिङका प्रशासकहरूले उनलाई विभिन्न प्रकारका चिया पिलाउनुका साथै उपहार दिएका र त्यहाँका चिया बगानहरूको भ्रमण गराएका थिए । यी सब कुराबाट उनी चिया खेतीप्रति निकै प्रभावित भए र प्रधानमन्त्री जङ्गबहादुरसँग पनि यसबारे कुराकानी गरे।
त्यस्तै समयतिर चीनका सम्राटले नियमित सन्देश तथा उपहार आदानप्रदानका क्रममा जंगबहादुरलाई चियाको बीउ उपहार पठाएका थिए। आफ्ना ज्वाइँको इच्छा मुताविक जङ्गबहादुरले ती बीउहरू इलाम पठाए।
त्यसपछि गजराजले ५-७ हजार फिटको उचाइमा अवस्थित र चिया खेतीका निम्ति निकै पायक पर्ने क्षेत्र इलाममा चिया खेतीको शुरुआत गरे। फलस्वरूप उनकै कार्यकालमा त्यहाँ चिया बगानको राम्रो विकास हुनुका साथै इलाम र सोक्तिम चिया बगान एवं एक सानो प्रशोधन केन्द्र स्थापना भयो।
सो प्रशोधन केन्द्र इलाममा अझै पनि छ। उनले त्यहाँ १०३ एकडका दुई भिन्दाभिन्दै जमिनमा चिया खेती शुरू गरेका थिए । यसको सफलतासँगै उनकै पहलमा सन् १८६५ मा झापामा पनि चिया बगानको स्थापना भएको हो ।
सन् १८१६ को सुगौली सन्धिपछि गोर्खालीहरू बेलायती फौजमा भर्ती हुन थाले। उनीहरू बिदामा नेपाल आउँदा उताबाट घरमा चिया पनि ल्याउन थालेका थिए। त्यो समयभन्दा पहिले पनि नेपालका शासकहरूले आफ्नो खपतका निम्ति भारतबाट नेपालमा चिया मगाउने गरेका थिए।
सन् १८२० मा अङ्ग्रेजले आसाममा चिया रोप्न शुरू गरेका भए पनि भारतका व्यापारीहरूले चीनबाट औषधिका रूपमा चिया आयात गर्ने गरेको र आसाम क्षेत्रकै रैथाने आदिवासीहरूमा पनि चिया जस्तै जडीबुटी सेवन गर्ने चलन रहेको तथ्य इतिहासमा पढ्न पाइन्छ।
इष्ट इन्डिया कम्पनीका गोराहरूले भारतका सम्भ्रान्तहरूलाई चीनबाट आयात गरिएका चिया पनि बेच्ने गरेबाट नेपालको दरबारमा पृथ्वीनारायण शाहकै पालामा पनि चियाको चलन शुरू भइसकेको हुन सक्छ।
त्यसबाहेक विभिन्न जडीबुटीका साथै अदुवा, मरिच, दालचिनी, कागती आदिको प्रयोगबाट अझसम्म पनि तयार गरिने स्वस्थकर काँढा पिउने चलन नेपालमा निकै पुरानो हो।
नेपालमा १०४ वर्षसम्म निरङ्कुश जहानिया राणा शासन रह्यो। यो शासन व्यवस्थाले नेपालको दक्षिणतर्फ विशाल साम्राज्य खडा गरेर बसेको बेलायतलाई समेत निकै सीमित रूपमा मात्र नेपाल प्रवेश गर्न दिएकाले नेपाल यो समयावधिमा बाँकी विश्वबाट टाढा रहन गयो।
फलस्वरूप दक्षिणी छिमेकी मुलुकमा भइरहेको आर्थिक विकासलाई नेपालमा भित्र्याउने जमर्को गरिएन। त्यसैले सन् १९५० सम्म नेपालमा चियाको राम्रो विकास हुन सकेन र चिया खेती शुरू भएको झण्डै १०० वर्षसम्म यो खेती फैलिन पाएन।
तर पनि सन् १९०० तिरदेखि नेपालका चियाका साना किसान र व्यापारीहरूले नेपाली चियाका ससाना खेप दार्जिलिङतिर अनौपचारिक तवरले पुर्याएर बिक्री गर्न र केही आयआर्जन गर्न थालेका थिए। तर आफ्नै आन्तरिक खपतका निम्ति भने नेपालका सम्भ्रान्त र चियाका पारखी विभिन्न वर्गले भारतीय चियामा नै भर पर्नुपर्ने अवस्था थियो।
सन् १९५० मा राणा शासनको अन्त्य भएपछि भने नेपाल बाँकी विश्वका लागि खुला भयो र यहाँ आर्थिक विकासको पनि थालनी भयो । यो समयभन्दा पहिले गरिएका भनिएका केही विकास निर्माणका कार्यहरू जस्तै दरबारहरूको निर्माण, बिजुली उत्पादन, रेल र कच्ची सडक, नहर, आकाशवाणी, सिनेमा हल आदि खासगरी राणा शासकहरूको व्यक्तिगत फाइदा र उपभोगका निम्ति मात्र थालिएका थिए ।
राणा शासनको अन्त्य भएको नौ वर्षपछि अर्थात् सन् १९५९ मा पूर्वी नेपालको तराईमा निजी क्षेत्रको पहलमा पहिलो चिया खेती (बुधकरण चिया बगान) को स्थापना भएको थियो।
नेपालमा चिया खेतीको सम्भावना रहेको पुष्टि हुँदै गएपछि भने सन् १९६६ मा नेपाल सरकारले ‘नेपाल चिया विकास निगम’ को स्थापना गर्यो । राजा महेन्द्रले भूमिसुधार कार्यक्रमको शुरुआत गर्दाको समयमा झापामा भूमिसुधार र पुनर्वास कार्यक्रमको थालनी भएकै बेलातिर चिया विकास निगमको पनि स्थापना भएको हो।
नेपाल चिया विकास निगमको स्थापनासँगै गजराज सिंह थापाले स्थापना गरेका इलाम र झापाका दुई चिया बगान र त्यसपछि बेलायती सहायतामा स्थापना भएका पाँचवटा बगान पनि यसै अन्तर्गत चल्न थाले भने यो निगमले चिया सम्बन्धी धेरै अनुसन्धान पनि गर्यो।
सन् १९८० मा नेपालमा खासगरी सरकारी स्तरमा चलिरहेको चिया खेती र उद्यमलाई निजीकरण गर्ने कामको थालनी भयो र सन् २००० मा तत्कालीन सरकारले नेपाल चिया विकास निगमको पूर्ण रूपमा सञ्चालन गर्ने जिम्मा निजी क्षेत्रको त्रिवेणी समूहलाई दियो।
यो समूहले निगम मातहतका सबै बगान सञ्चालन गर्ने जिम्मा पाएपछि विभिन्न उच्च ब्राण्डका चियाहरूको उत्पादन गरेर आन्तरिक माग पूर्ति गर्नुका साथै निर्यात पनि गर्ने गरेको छ।
अर्कोतर्फ, यो कम्पनीलाई केही चिया बगानमा रासायनिक मलको प्रयोग गरेको अपुष्ट आरोप पनि लागेको कुरा सुन्नमा आएको थियो। यसरी रासायनिक मल तथा वातावरणीय पक्षबाट वर्जित प्रविधि र मलखादको उपयोग भयो भने नेपाली चियाको विश्वमा बढ्दै गएको लोकप्रियतामा ह्रास आउन सक्छ।
नेपाल चिया विकास निगमको निजीकरणपछि सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना गरेर राष्ट्रिय चिया विकास नीति बनाएको छ र यसको मूल उद्देश्य चिया किसानलाई सुलभ र सहज ऋण तथा चिया खेतीका निम्ति जमिन उपलब्ध गराउनु पनि रहेको छ।
त्यस्तै सुलभ कृषि कर्जाको शुरुआत भएको पनि धेरै समय भइसक्यो। तर विगत चार दशकदेखि नेपालमा प्रजातन्त्रको जग मजबुत भए पनि आम जनतालाई भन्दा पनि आफ्ना दलका निकटस्थ, आसेपासे तथा परिवारका सदस्यलाई त्यस्ता नीति र कर्जाले सहयोग गर्ने गरेका छन्।
यसरी प्राप्त रकमको चरम दुरुपयोग हुने गरेको र कर्जा असुली शून्यप्रायः हुने गरेको छ। तर दण्डहीनता र चरम भ्रष्टाचारले गर्दा कानुनविपरित हुने यस्ता कार्यमा कसैलाई पनि कुनै सजाय हुने गरेको भेटिँदैन।
हाल निजी क्षेत्रको अथक र सक्रिय संलग्नताकै कारण नेपालमा चिया खेती र उद्योगको निकै विकास भइसकेको छ। आज नेपालको अधिकांश (करिब ९५ प्रतिशत) चिया भारतमा निर्यात हुने भए पनि बिस्तारै नेपाली चिया युरोपका नेदरल्यान्ड्स, जर्मनी, फ्रान्स, अस्ट्रिया, पोल्याण्ड, बेल्जियम, डेनमार्क, बेलायत आदि मुलुकमा र अमेरिका, अस्ट्रेलिया, जापान, पाकिस्तान र केही अरब मुलुक आदिमा पनि निर्यात हुन थालेकाले यो उद्योगको भविष्य निकै उज्ज्वल छ ।
भारत र चीन विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने मुलुक हुनुका साथै चिया रुचाउने मुलुक पनि हुन् भने टर्की, बेलायत, आयरल्याण्ड, रुस, मोरक्को, जापान र भन्नै पर्दा विश्वका अधिकांश राष्ट्रहरू चिया रुचाउने मुलुकमा नै पर्दछन्।
यी मुलुकहरूमा चिया पिउने शैली र कस्तो चिया रुचाउने भन्ने कुरामा मात्र केही फरकपना हुन सक्छ, नत्र अधिकांश चिया रुचाउने मुलुकहरूमा चियालाई एक प्रकारको लाभदायक अम्मलका रूपमा नै लिइन्छ र पानीको विकल्पका रूपमा पनि सेवन गर्ने गरिन्छ।
त्यसैले चिया उत्पादन गर्ने मुलुकहरूले थोरै मात्र ध्यान आफ्नो उत्पादन, बजारीकरण र ब्राण्डिङमा पुर्याउन सके भने चियाबाट धेरै फाइदा लिन सक्ने देखिन्छ।
सन् १९७८ मा बल्ल चिया प्रशोधन गर्ने आधुनिक कारखानाको शुरुआत नेपालको इलाम जिल्लामा भयो। नेपालको पहाडी क्षेत्र जता पनि चियाको खेती हुन सक्ने भए पनि त्यतिबेला इलाम र झापामा चिया खेती शुरू गरिएकाले आजसम्म पनि मेची र कोशी अञ्चल नै चिया खेतीका प्रमुख केन्द्र बन्न पुगेका छन्।
केही दशकदेखि भने सोलुखुम्बु, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, कास्की जस्ता जिल्लाका पहाडी क्षेत्रमा पनि चिया खेती शुरू गरिएको छ । आज चिया खेतीमा निजी क्षेत्रकै वर्चस्व भइसकेको छ भने यो खेतीमा साना किसानदेखि मझौला उद्यमीहरूको पनि उत्तिकै योगदान रहेको छ तथा हजारौँ मजदुरले चिया खेतीबाट आफ्नो जीविका चलाइरहेका छन्।
चिया प्रशोधनको आधुनिक प्रविधि पनि धमाधम भित्रिन थालेको छ। चिया सुकाउन प्रयोग हुने दाउरा तथा अन्य इन्धनको स्रोतलाई कसरी वातावरणमैत्री बनाउने वा सौर्य र अन्य वैकल्पिक सफा ऊर्जाको प्रयोग गर्ने तथा के-कसरी नेपाली चियालाई रासायनिक मलखाद मुक्त बनाएर आधुनिक खेतीमा पनि परम्परागत प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने कुरामा विभिन्न अनुसन्धान र अन्तरक्रिया हुने गरेको छ। अधिकांश नेपाली चिया खेतीमा गोबरको मल र अन्य प्रकारले बनेको परम्परागत प्राङ्गारिक मलकै प्रयोग गरिन्छ।
राजा वीरेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थात् पञ्चायती व्यवस्थाको समयमा नेपालमा चिया खेतीले निकै विकास गर्ने मौका पायो । नेपाल चिया विकास निगमले पनि चियाको विकास र चिया किसानहरूको उत्थानका निम्ति निकै काम गरेको थियो।
आज पनि नेपाली बजारमा चियाको माग पूर्ति गर्न नेपाल चिया विकास निगमले आफ्नै पहलमा विभिन्न थरीका चियाको उत्पादन गर्ने गरेको छ । टोक्ला चियाको साधारण, गोल्ड, मसला तथा टी-ब्याग र साना प्याकेटका चियाले नेपाली बजारका साथै केही हदसम्म अन्तर्राष्ट्रिय बजारमा पनि पुग्न सफलता पाएका छन्।
राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणहरूका बेला उनले चिया खेतीबाट साना किसान र मजदुरहरूले निकै फाइदा लिन सक्ने सम्भावना प्रत्यक्ष रूपमा देखेकाले सन् १९८२ मा मेचीका पाँचथर, इलाम, झापा र कोशीका तेह्रथुम र धनकुटालाई नेपालको ‘चिया क्षेत्र’ घोषणा गरे।
फलस्वरूप चियाको विकासक्रमसँगै आज नेपाली चियाको लोकप्रियता विश्वभर नै ज्यादै बढेको छ र चिया खेती एवं उद्योगको विकासमा पनि नेपालले ठूलो फड्को मारेको छ।
गजराज सिंह थापाले त्यतिबेला इलामबाट पूर्वमा अवस्थित दार्जिलिङमा चियाको खेती फस्टाएको देखेकाले इलामतिरै चिया रोप्न शुरू गरेका थिए र त्यतिबेलादेखि आजसम्म पनि नेपालका पूर्वी पहाडी जिल्लाहरूमा चिया खेती गर्ने गरिएको हो।
तर वास्तवमा नेपालका अधिकांश पहाडी क्षेत्रमा चियाको खेती सम्भव छ। उदाहरणका निम्ति काठमाडौंको उत्तरपूर्वी काँठ क्षेत्रमा पनि चिया खेती शुरू गरिएको छ र सो खेती निकै फस्टाएको पनि छ।
नेपालमा चिया खेतीको शुरुआत कर्णेल गजराज सिंह थापाले गरेको भए पनि आजसम्म उनको नाममा कुनै चियाको ब्राण्ड बजारमा नआउनु र इलामको पुरानो चिया बगानमा वा इलाम शहरको मुख्य चोकमा उनको एउटा शालिक समेत नदेखिनु एउटा अचम्मको कुरा हो।
‘गजराज अर्थोडक्स चिया’ वा गजराजको नामको कुनै अरू चिया छ कि भनेर खोजी गर्दा आसामको गुवाहाटीमा रहेको एउटा चिया कारखानाले ‘गजराज’ ब्राण्डको चिया उत्पादन गर्ने गरेको पाइयो।
तर त्यो कारखाना वा ब्राण्ड उनकै नाममा बनेको हो वा कुनै गजराज नामका भारतीय उद्यमी वा भगवान श्री गणेशजीको नाममा लोकप्रिय बनाइएको हो, सो बुझ्न सकिएको छैन।
इलामतिरबाट बसाइँ सर्ने क्रममा नेपालीहरू आसाममा गएर चिया बगानहरूमा काम गर्दा उनीहरूले नै त्यहाँका उद्यमीहरूलाई नेपालमा चिया खेतीको शुरुआत गर्नमा गजराज सिंह थापाको योगदान रहेको कुरा बताएकाले पनि सो ब्राण्ड बनेको हुन सक्ने झिनो सम्भावना रहन्छ।
नेपालमा अर्थोडक्स (परम्परागत) चिया र सीटीसी चिया गरी खासगरी दुई प्रकारको चिया उत्पादन हुन्छ। चीनबाट उपहारस्वरूप आएको चियाको बिरुवाबाट उत्पादित चिया परम्परागत शैलीको चियाको समूहमा पर्दछ।
नेपाललाई चीनका बादशाहले चियाको बिरुवा उपहार दिएपछि त्यसको खेती इलाममा शुरू गरिए जस्तै बेलायतीहरूले चीनबाट लुकाएर ल्याई आसाम र दार्जिलिङमा रोपेको चिया पनि परम्परागत अर्थात् अर्थोडक्स चिया नै हो।
नेपालका पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, सिन्धुपाल्चोक र कास्की गुणस्तरीय परम्परागत चिया उत्पादन गर्ने प्रमुख जिल्लाहरू हुन्। परम्परागत चिया खेती खासगरी ४,००० फिटदेखि ७,००० फिटसम्मको पहाडी भूभागमा गरिन्छ।
त्यस्तै क्यामेलिया सिनेन्सिस नामले नै चिनिने आसामी प्रजातिको चियाको क्रस, टियर, कर्ल अर्थात् सीटीसी विधिको चिया खेती नेपालको झापा र अन्य तल्लो भूभागमा गरिन्छ । नेपालको ९५ प्रतिशत चियाको माग नेपालकै यही इलाकामा खेती गरिएको सीटीसी चियाले पुर्याउने गरेको छ।
आजभन्दा ५०-६० वर्ष अघिसम्म नेपालमा भारतीय ब्रुकबण्ड, लिप्टन आदि ब्राण्डका सीटीसी चियाको बोलवाला थियो भने आज नेपालका टोक्ला, सोक्तिम, राकुरा, कञ्चनजंघा, गोरखा, डाँफे, उत्तम जस्ता चियाले यहाँको मागलाई पूरा गरेका छन्।
चियामा विभिन्न प्रकारका मसला, जडीबुटी, मिन्ट आदि मिसाएर मिठास र ताजगीको आभास दिने काम पनि अन्य मुलुकमा जस्तै नेपाली चियाका ब्राण्डहरूले गरेका छन् । एक प्रकारले नेपाली चियाकै खपत नेपालमा हुने गरेकाले पनि मुलुकमा चिया आयातमा धेरै कमी आएको छ र विदेशी मुद्राको बचत पनि भएको छ।
नेपालका चियाका पारखी र स्वास्थ्यप्रति सचेत मानिसहरूमा अर्थोडक्स चिया पनि लोकप्रिय हुँदै आएको छ। ग्रीन टी (हरियो चिया) को सेवन पानीको विकल्पमा दिनभर गर्ने चलन पनि बढ्दो छ। अर्थोडक्स र सीटीसी तथा अन्य विभिन्न प्रकारका चिया मिसाएर पिउने प्रथा पनि नेपालमा छ।
दार्जिलिङ र इलामको चियालाई मिसाएर अझ आकर्षक स्वादको चिया सेवन गर्ने चलन पनि निकै नै छ। केही दशक अघिसम्म टिनका बट्टाहरूमा विभिन्न प्रकारका चिया राखेर तौलँदै मिसाएर बेच्ने चियाका विशिष्ट पसलहरू एकाध मात्र थिए भने आज काठमाडौँका धेरै ठाउँमा त्यस्ता पसलहरू खुलेका छन्।
यी पसलहरूमा नेपालीका साथै भारतीय र अन्य दक्षिण एशियाली पर्यटक तथा चियाका पारखी अन्य मुलुकका पर्यटक पनि आफ्नो खपतका निम्ति र स्वदेशमा फर्केर उपहार दिनका लागि यस्ता चिया खरिद गरेर विशेष प्याकेजिङ गराई लैजाने गर्दछन्।
हिजोआज नेपालमा रक्सीका भट्टी जाने संस्कृतिभन्दा पनि चिया र कफी पिउने संस्कृति हाबी हुँदै गएको छ।
त्यसैले त नेपालको जुनसुकै भेगमा र सबैजसो शहरका टोलटोलमा चिया घुम्ती, मट्का चिया, मसला चिया, चिया हब जस्ता विभिन्न आकर्षक नामका साथ चियाका पसलहरू खुल्न थालेका छन् र ती चिया पसलमा सबै उमेर समूहका मानिसहरूको भीड लाग्ने गरेको छ।
पहिलेदेखि नै राजनीतिक र अन्य गफ गर्ने अखडा चिया पसल नै हुने गर्दथे। आज आएर युवाहरू पनि जमघट हुने स्थल चिया पसल नै हुन थालेको छ। मादक पदार्थ जस्ता नराम्रा लतमा लाग्नुभन्दा चियाको लतमा लाग्नु नै धेरै राम्रो हो।












Facebook Comment