दक्षिण कोरियामा नयाँ प्रणालीअन्तर्गत पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

डिसी नेपाल
२८ असार २०८३ ९:५६

सियोल। दक्षिण कोरियाले यसै वर्षदेखि कार्यान्वयनमा ल्याएको नयाँ वर्गीकरण प्रणालीअनुसार आइतबार पहिलो पटक देशमा आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ। अत्यधिक गर्मी बढेसँगै अधिकारीहरूले सर्वसाधारणलाई बाहिरी गतिविधिहरू रोक्न र शरीरलाई शीतल राख्न विशेष आग्रह गरेका छन्।

कोरिया मौसम विज्ञान प्रशासनकी प्रमुख ली मी-सोनका अनुसार आइतबार बिहान १० बजे दक्षिणी नर्थ ग्योङसाङ प्रान्तका ग्योङसान र पोहाङ सहरका लागि यो पहिलो आपतकालीन चेतावनी जारी गरिएको हो। प्रभावित क्षेत्रहरूमा सातान्तभरि नै तापक्रमले चेतावनी जारी गर्ने नयाँ मापदण्ड पार गरेको थियो।

पछिल्ला वर्षहरूमा दक्षिण कोरियामा अत्यधिक गर्मीको लहर लामो समयसम्म रहने र झन् तीव्र बन्दै गएकाले यसको प्रभावकारी व्यवस्थापनका लागि सरकारले यो नयाँ प्रणाली लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार, कुनै पनि क्षेत्रको महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा एक दिनका लागि भए पनि आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गरिन्छ।

मौसम प्रशासनकी प्रमुख लीले पत्रकार सम्मेलनमा भने, “आपतकालीन हिटवेभ चेतावनीको अर्थ मौसम सामान्यभन्दा धेरै तातो हुनु मात्र होइन, बरु यसले स्वस्थ मानिसलाई समेत गर्मीजन्य रोग वा मृत्युको उच्च जोखिममा पार्न सक्ने खतरालाई जनाउँछ।”

जोखिमलाई ध्यानमा राख्दै उहाँले चेतावनी जारी गरिएका क्षेत्रका बासिन्दालाई बाहिरी कामहरू तुरुन्त रोक्न, शीतल स्थानमा बस्न तथा बालबालिका वा घरपालुवा जनावरलाई कुनै पनि अवस्थामा सवारी साधनभित्र एक्लै नलगाउन कडा निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *