सुदूरपश्चिममा रासायनिक मलको हाहाकार: डिएपि नपाउँदा किसान मल विनानै रोपाइँ गर्न बाध्य
युरिया सहज हुने दाबी
धनगढी। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको चरम अभाव देखिएको छ। धान रोपाइँको मुख्य सिजनमा लामो समयसम्म मल पाउने आशामा बसेका यहाँका किसानहरू अन्ततः मल विना नै धान रोप्न बाध्य भएका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेस्रो सातासम्म पनि रासायनिक मलको प्रतीक्षामा हरेक सहकारी धाए तर कतै पनि मल नपाइएपछि उनी मल बिनानै रोपाइँमा व्यस्त हुनुपर्यो।
मनबहादुरका अनुसार धान रोपाइँका बेला डिएपि मल अनिवार्य आवश्यक पर्ने भए पनि यस पटक रोपाइँ सकिन लाग्दा समेत मल प्राप्त हुन सकेको छैन। उनी जस्तै कैलाली र कञ्चनपुरका हजारौँ किसानहरू यस पटक रासायनिक मलका लागि भौँतारिनु परेको छ।
सरकारी अनुदान प्राप्त रासायनिक मल विक्रेता संस्था कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका अनुसार यस वर्ष गत वर्षको तुलनामा निकै न्यून मात्रामा रासायनिक मल उपलब्ध भएकाले यो संकट सिर्जना भएको हो।
कृषि सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीका अनुसार यस वर्ष फागुन महिनादेखि सुदूरपश्चिममा नयाँ डिएपि मल आयात हुन सकेको छैन।
भएका पुराना मौज्दातहरू थोरै-थोरै गरेर सहकारीलाई वितरण गरिए पनि त्यो पर्याप्त हुन सकेन। गत वर्षको साउनदेखि फागुनसम्म सुदूरपश्चिममा १५ हजार ३ सय २७ मेट्रिकटन युरिया, ८ हजार ३ सय ८० मेट्रिकटन डिएपि र ८ सय १६ मेट्रिकटन पोटास बिक्री वितरण गरिएको थियो।
हाल केन्द्रसँग ३ सय ३० मेट्रिकटन युरिया, ३ सय ६ मेट्रिकटन डिएपि र १ सय २९ मेट्रिकटन युरिया मात्र मौज्दात रहेको छ। बिक्री भएको अधिकांश मल हिउँदे बालीका लागि प्रयोग भइसकेका कारण धानका लागि अपुग भएको हो।
सुदूरपश्चिममा धान खेतीका लागि मात्रै कम्तीमा ८ हजार मेट्रिकटन डिएपि आवश्यक पर्ने गर्दछ। यस वर्ष अमेरिका र इरानबिच भएको युद्धका कारण समयमै रासायनिक मल आयात हुन नसकेको प्रबन्धक बोगटीको भनाइ छ।
साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि अमेरिका-इरान युद्धको प्रभाव, बाटोको अवरोध र ढुवानीमा भएको समस्याका कारण यस पटक डिएपि मलको अभाव अझ बढी भएको स्वीकार गरे।
उनका अनुसार साल्ट ट्रेडिङले गत साउनदेखि हालसम्म भित्र्याएको ५ हजार ७१ दशमलव ६० मेट्रिकटन युरिया, ५ हजार ७ सय ८१ मेट्रिकटन डिएपि र २ सय ६४ मेट्रिकटन पोटासमध्ये असार २६ गतेसम्म अधिकांश मल बिक्री भइसकेको छ।
हाल साल्ट ट्रेडिङसँग ५८ दशमलव ८५ मेट्रिकटन युरिया र ९१ दशमलव ७० मेट्रिकटन डिएपि मात्र मौज्दात छ। यद्यपि, हाल भैरहवामा रहेको पुरानो स्टकबाट थप ५ सय मेट्रिकटन मल उपलब्ध भएको र सो मल सहकारी मार्फत कृषकलाई वितरण गर्ने कार्य भइरहेको उनले जानकारी दिए।
धान रोप्दा डिएपि मलको चरम अभाव झेलेका कृषकहरूका लागि धान गोड्ने बेला आवश्यक पर्ने युरिया मल भने सहजै पाइने दाबी वितरक संस्थाहरूले गरेका छन्। सामान्यतया धान रोपेको २५ दिनदेखि एक महिनाभित्र अर्थात् अबको एक सातापछि कृषकलाई युरिया मल आवश्यक पर्नेछ।
कृषि सामग्री केन्द्रका प्रादेशिक प्रबन्धक बोगटीले ३ सय ३० मेट्रिकटन युरिया अहिले पनि मौज्दात रहेको र आगामी साउन २-३ गतेभित्र सुदूरपश्चिममा थप युरिया मल आइपुग्ने जानकारी प्राप्त भएकाले डिएपि जस्तो अभाव युरियामा नहुने स्पष्ट पारे।
साल्ट ट्रेडिङका प्रमुख कुँवरले पनि धेरै कृषकहरूले यसअघि नै धानका लागि चाहिने युरिया मल लगेर भण्डारण गरिसकेका कारण आगामी दिनमा युरिया मलको अभाव नहुने दाबी गरे।






डिसी नेपाल





Facebook Comment