राहदानीको नयाँ उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनमा
अत्यावश्यक अवस्थामा मात्र आवेदन दिन विभागको आग्रह
काठमाडौं। राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको विभागले सोमबार एक सूचना जारी गर्दै २०८३ साल असार २८ गतेदेखि यो नयाँ सूचना प्रविधि प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।
विभागका अनुसार विगतका करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी ऐतिहासिक विवरणहरूलाई सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ।
नयाँ सूचना प्रविधि प्रणाली कार्यान्वयनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने विभागले जनाएको छ।
नयाँ प्रणाली सञ्चालनको सुरुवाती चरणमा यस्तो अवस्था देखिनु स्वाभाविक भएको विभागको भनाइ छ। यसरी आउन सक्ने सम्भावित समस्याहरूलाई ध्यानमा राख्दै विभागको प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रहेका छन्। उनीहरूले प्रणालीको निरन्तर अनुगमन, परीक्षण र आवश्यक सुधारका कार्यहरू गरिरहेका छन्।
प्रणालीमा देखिने तत्कालीन समस्याहरूको शीघ्र र दीर्घकालीन समाधान गर्न आफूहरू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विभागले प्रस्ट पारेको छ।
नयाँ प्रणाली परिपक्व र थप स्थिर नहुन्जेलसम्मका लागि राहदानी अत्यन्तै अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। सेवाग्राहीको यो संयमता र सहयोगले नयाँ प्रणालीलाई चाँडो भन्दा चाँडो प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास विभागले लिएको छ।
यसका साथै, राहदानी सेवासम्बन्धी कुनै पनि आधिकारिक सूचना तथा जानकारीका लागि विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन विभागले आम सेवाग्राहीलाई आग्रह गरेको छ।
राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको समेत पुनर्पुष्टि गरेको छ।






डिसी नेपाल





Facebook Comment