नेपाललाई ‘खेलकुद पर्यटन’ को आकर्षक गन्तव्य बनाउन सकिन्छ : खेल विज्ञ दिपक थापा
काठमाडौँ । खेल क्षेत्रका जानकार एवं अध्येता दिपक थापाले नेपाललाई खेलकुद पर्यटनको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपालको अद्वितीय प्राकृतिक स्रोत, भौगोलिक विविधता र पर्यटनको प्रचुर सम्भावनाका कारण यहाँ खेलकुद पर्यटनको बलियो जग बस्न सक्ने उल्लेख गरे।
नेपालमा खेलकुदलाई अझै पनि प्राथमिकतामा राख्न नसकिएको प्रति चिन्ता व्यक्त गर्दै उनले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नमानी राष्ट्रको पहिचान, नागरिकको स्वास्थ्य र देशको अर्थतन्त्रसँग जोडेर हेर्नुपर्नेमा जोड दिए।
सम्पन्न देशहरूमा खेलकुद सधैँ पहिलो प्राथमिकतामा पर्ने भए पनि नेपालजस्तो मुलुकमा गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकताले प्राथमिकता पाउने गरेको उनको भनाइ छ।
यद्यपि, नेपालमा ९० वर्षअघि देखि नै फुटबल, ब्याडमिन्टन र क्रिकेटका क्लबहरू स्थापना भइसकेको ऐतिहासिक पृष्ठभूमि रहे तापनि अहिलेसम्म व्यावसायिक खेलकुदका लागि आवश्यक पूर्वाधार र प्राथमिकता पर्याप्त हुन नसकेको उनले औँल्याए।
अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि पूर्वाधार, सुरक्षा, स्तरीय होटल र व्यवस्थित यातायात जस्ता पक्षहरू मुख्य कडी हुने थापाको बुझाइ छ।
कुनै पनि अन्तर्राष्ट्रिय खेल फेडेरेसनले प्रतियोगिता आयोजनाको जिम्मा दिँदा सम्बन्धित देशको भौगोलिक अवस्था, खेल पूर्वाधार र आतिथ्य सेवाको मिहिन मूल्यांकन गर्ने गर्दछन्।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू हुँदा खेलाडीसँगै ठूलो संख्यामा अफिसियल, उनीहरूका परिवार र साथीहरू पनि आउने भएकाले यसको प्रत्यक्ष फाइदा देशको समग्र पर्यटन क्षेत्रले पाउँछ। एउटा पर्यटक आउँदा होटल, यातायात, खानपान र किनमेलका माध्यमबाट धेरै मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक गतिविधिमा जोडिने भएकाले खेलकुदले स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्मलाई चलायमान बनाउन सक्छ।
पूर्वाधारको क्षेत्रमा नेपाल केही पछाडि देखिए पनि प्रकृतिले दिएको उपहार अर्थात् साहसिक पर्यटनमा नेपाल निकै अगाडि छ। विशेष गरी उच्च हिमाली क्षेत्रमा आयोजना गरिने म्याराथन, साइकलिङ, स्की, र्याफ्टिङ र कायकिङ जस्ता साहसिक खेलहरूका माध्यमबाट नेपाललाई विश्वकै आकर्षक खेलकुद गन्तव्य बनाउन सकिने उच्च सम्भावना रहेको उनले प्रष्ट पारे।
यसका लागि नेपालले अन्तर्राष्ट्रिय खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि कूटनीतिक निकाय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र डिजिटल सामग्री निर्माताहरूसँग रणनीतिक सहकार्य गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
एक–दुई वर्ष अगाडिदेखि नै खेलकुद कार्यक्रमको व्यवस्थित क्यालेन्डर बनाएर प्रचार गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय बजारमा राम्रोसँग चिनाउन सकिन्छ। खेलकुदको दिगो पूर्वाधार निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउनु उपयुक्त हुने थापाको सुझाव छ।
निजी क्षेत्रले आफैँ जग्गा खरिद गरेर खेल पूर्वाधार बनाउन कठिन हुने र लगानीको प्रतिफल आउन लामो समय लाग्ने भएकाले सरकारले निश्चित अवधिका लागि जग्गा लिजमा दिने, कर सहुलियत दिने र लगानीमैत्री वातावरण बनाउने हो भने निजी क्षेत्र आकर्षित हुन सक्छ।
यस कार्यमा स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा र स्रोतलाई खेल पूर्वाधार विकासमा उपयोग गर्नुपर्छ, जसका कारण एउटा रंगशाला निर्माण हुनु भनेको खेल मैदान मात्र नभएर स्थानीय बजार, नयाँ रोजगारी र समग्र आर्थिक विकासको ढोका खुल्नु हो।
विश्वका धेरै साना राष्ट्रहरू खेलकुदकै माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा चिनिएका उदाहरणहरू प्रस्तुत गर्दै थापाले नेपालले पनि खेलकुदलाई राष्ट्र निर्माणको बलियो कडी बनाउनुपर्ने धारणा राखे।
मैदानमा खेलाडीले देशको प्रतिनिधित्व गर्दा र पदक जित्दा देशको नाम विश्वभर पुग्ने र त्यसले व्यापारिक प्रायोजन, लगानी तथा नयाँ आर्थिक अवसरहरू सिर्जना गर्ने गर्दछ। यसका लागि विद्यालय तहबाटै नयाँ खेल प्रतिभाहरूको पहिचान गरी विद्यालय, स्थानीय क्लब र राष्ट्रिय टोलीबीच बलियो समन्वय स्थापना गर्नुपर्छ।
साथै, कर्पोरेट क्षेत्रलाई पनि उनीहरूको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खेलकुदमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने र सरकारले उचित सहुलियत दिएमा निजी क्षेत्र खेलकुद पूर्वाधारमा ठूलो लगानी गर्न तयार रहेको उनले बताए।






डिसी नेपाल





Facebook Comment