डायस्पोरामा नेपाली भाषा-साहित्यको नयाँ विहान: क्यालिफोर्नियामा भानुभक्तको सालिक अनावरण
क्यालिफोर्निया। नेपाली भाषा र साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको सुअवसरमा अमेरिकाको क्यालिफोर्नियास्थित रिचमण्ड सिटीमा रहेको नेपाली सामुदायिक भवनमा उहाँको अर्धकदको सालिक स्थापना गरिएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) उत्तरी क्यालिफोर्निया च्याप्टरको विशेष योजना र सक्रिय पहलमा यो ऐतिहासिक कार्य सम्पन्न भएको हो। यही जुलाई १२ तारिख आइतबारका दिन आयोजित एक भव्य समारोहका बीच वरिष्ठ रेडियो प्रस्तोता एवं कवि डा. नवराज लम्साल र रिचमण्ड सिटीका मेयर इडवार्डो मार्टिनेजले संयुक्त रूपमा उक्त सालिकको अनावरण गरेका थिए।
सान फ्रान्सिस्को बे एरियाका नेपाली समुदायको बाक्लो र उत्साहजनक उपस्थितिले यो समारोहलाई अत्यन्त भव्य, ऐतिहासिक र अविस्मरणीय बनाएको थियो।
सालिक अनावरणको उक्त विशेष गरिमामय अवसरमा सुप्रसिद्ध रेडियो कार्यक्रम ‘बुलबुल’ का परिकल्पनाकार तथा प्रस्तोता अच्युत घिमिरे, हर्कुलिस् सिटी काउन्सिलका सदस्य डिल्ली भट्टराई र न्यान्सका अध्यक्ष प्रितेश कार्की लगायत बे एरियाका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा साहित्यानुरागीहरूको ठूलो उपस्थिति रहेको थियो।
समारोहमा सहभागिता जनाउन लस एन्जलसबाट च्याप्टर अध्यक्ष मोहन निउरे, डन कार्की र केशी श्रेष्ठ तथा सिक्किम च्याप्टरबाट बिष्णुमाया कट्टेल लगायतका अतिथिहरूको उपस्थिति थियो।

सालिक स्थापनाको खुसीयालीमा सोही दिन सामुदायिक भवनको सभाहलमा अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बाबु आचार्यको सभापतित्वमा करिब ७ घण्टा लामो विशेष साहित्यिक महोत्सव समेत आयोजना गरिएको थियो, जसको प्रमुख आतिथ्यता कवि डा. नवराज लम्सालले गर्नुभएको थियो भने संचालन महासचिव नारायण भट्टराई र उपाध्यक्ष दीपक पाठकले संयुक्त रूपमा गरेका थिए।
उक्त भव्य साहित्यिक समारोहका बीच च्याप्टरको भानु विशेष मुखपत्र ‘समुद्रपारिका सिर्जना’ को लोकार्पण गरिनुका साथै सगरमाथा आरोहीहरू तथा विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको थियो।
सोही अवसरमा आयोजित प्रतियोगितात्मक कविता वाचन कार्यक्रममा जमुना भट्टराईले प्रथम, गीता बजगाईंले द्वितीय र राज ढुङ्गानाले तृतीय स्थान हासिल गर्नुभएको थियो भने हिमेश भट्टराई र माया आचार्य श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
यस प्रतियोगिताको निष्पक्ष मूल्यांकन भाषाविद् पद्मप्रसाद नेपाल, ऋषभदेव घिमिरे र केदारनाथ खनाल सम्मिलित टोलीले गरेको थियो। प्रतियोगिता बाहेक धुर्व थापा, दीपक भण्डारी, दीपक पाठक, अमर तामाङ, लक्ष्मण अधिकारी लगायत करिब ३० जना अप्रतियोगी कविहरूले पनि आफ्ना सुन्दर सिर्जनाहरू वाचन गरेर हललाई काव्यमय बनाएका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कवि डा. नवराज लम्सालले एसिया महादेशबाहिर पहिलो पटक आदिकवि भानुभक्तको सालिक अमेरिकामा स्थापना गरेर अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरले प्रवासी भूमिमा एउटा ठूलो ऐतिहासिक कार्य गरेको भन्दै प्रशंसा गरे।
अर्का विशिष्ट अतिथि अच्युत घिमिरेले यस सालिकले नेपाली डायस्पोरालाई आफ्नो मौलिक भाषा र संस्कृतिसँग सधैं जोडिइराख्न एउटा बलियो र गतिशील साँघुको काम गर्ने धारणा व्यक्त गर्नुभयो। विदेशी भूमिमा नेपाली पहिचान र भाषा-साहित्यको प्रवर्द्धन गर्ने यस कार्यको अन्य वक्ताहरूले पनि खुलेर सराहना गरेका थिए।
समारोहको सुखद समापनका क्रममा धन्यवाद मन्तव्य राख्दै च्याप्टरकी वरिष्ठ उपाध्यक्ष रीतादेवी प्रधानले यस महान अभियानलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गरे।

उनले मूर्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने प्राध्यापक धर्मराज कोइराला, नेपालबाट अमेरिकासम्म मूर्ति र मुखपत्र सुरक्षित रूपमा ल्याउन सहजीकरण गर्ने नवनियुक्त अनेसास केन्द्रीय सचिव ऋषवदेव घिमिरे, सामुदायिक भवन परिसरमा मूर्ति स्थापनाको उत्कृष्ट डिजाइन गर्ने त्रैलोकेश्वर मल्ल तथा कार्यक्रमको व्यवस्थापकीय पक्ष र खाजाको व्यवस्था मिलाउने च्याप्टर सदस्य मीरा उजेली र अरुण न्यौपाने लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे।
प्रवासी नेपालीहरूबीच आपसी एकता, भाषिक चेतना र नयाँ पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्ने उद्देश्य बोकेको यस ऐतिहासिक कार्यका लागि अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरले भौतिक, मानसिक र आर्थिक रूपमा सहयोग पुर्याउने सबैमा हार्दिक कृतज्ञता प्रकट गरेको छ।












Facebook Comment